मानव आवाज

२०८३ असार १२ गते
00: 00: 00
२०८३ असार १२ गते

घ्याङ्लेख गाउँपालिकाको बजेट ४४ करोड ९८ लाख रुपियाँको

सिन्धुली । घ्याङ्लेख गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन २०८३ असार १० गते सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनको अध्यक्षतामा सम्पन्न अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष शङ्‌करमान घलानले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गर्नुभएको छ ।

उहाँका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ४४ करोड ९८ लाख ५६ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।

कुल बजेटमध्ये चालु खर्चतर्फ २८ करोड ३४ लाख ५६ हजार रुपियाँ (६३ प्रतिशत) तथा पूँजीगत खर्चतर्फ १६ करोड ६४ लाख रुपियाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटमा स्थानीय विकासलाई प्राथमिकतामा राखिएको छ ।

विशेषगरी शिक्षा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक तथा सांस्कृतिक संरक्षण, मानवअधिकार तथा महिला सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलका अनुसार बजेट तथा कार्यक्रममाथि गाउँसभा सदस्यहरूबिच छलफल गरी आवश्यक प्रक्रिया पूरा गरेर पारित गरिनेछ ।

उहाँले पिछडिएका वर्ग तथा जनजातिका अधिकार र सवाललाई समेत बजेटमा समेटिएको बताउँदै समावेशी विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले गाउँको समग्र विकासका लागि सबै क्षेत्र र समुदायको साथ, सहयोग तथा सहभागिता आवश्यक रहेको उल्लेख गर्दै विकास निर्माणका कार्यमा युवाशक्तिको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो ।

वडास्तरमा समावेश गरिएका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने पनि उहाँले जानकारी दिनुभयो ।

Author

Share the News

Recent News

Related News