सिन्धुली । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयहरूको सफलताको मुख्य आधार स्थानीय समुदायको सक्रिय सहभागिता र अपनत्व रहेको बताउनुभएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित गौमती माध्यमिक विद्यालयमा नवनिर्मित तीन ओटा भवनको उद्घाटन समारोहलाई २०८३ जेठ ३० गते सम्बोधन गर्दै उहाँले आधुनिक भवनहरू केवल इँटा, सिमेन्ट र फलामले बनेका संरचना मात्र नभई भावी युवा पुस्ताका सपना, आकाङ्क्षा र सम्भावनाको प्रतिविम्ब भएको उल्लेख गर्नुभयो ।
उहाँले नयाँ भवन निर्माणले विद्यालयको भौतिक पूर्वाधारलाई नयाँ उचाइमा पुर्याएको बताउँदै यसबाट विद्यार्थीहरूले थप सुरक्षित, सुव्यवस्थित तथा प्रविधिमैत्री वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले विद्यालयहरूको भूमिका विद्यार्थीलाई परीक्षा उत्तीर्ण गराउने कार्यमा मात्र सीमित हुन नहुने बताउँदै उनीहरूलाई प्राविधिक तथा व्यावसायिक रूपमा दक्ष, सिर्जनशील, अनुसन्धानमुखी, प्रतिस्पर्धी तथा उद्यमशील जनशक्तिका रूपमा विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले जलवायु परिवर्तन तथा वातावरणीय सङ्कटप्रति सचेत, जिम्मेवार र समाधानमुखी नागरिक तयार गर्नु आजको शिक्षाको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्नुभयो ।
समयको सदुपयोग गर्दै अध्ययन, अनुशासन, परिश्रम र नैतिक मूल्यलाई आत्मसात गरी आफ्नो क्षमता विकास गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
स्थानीय तहहरूले सबै जातजाति र भाषाभाषी समुदायको मातृभाषा तथा भाषागत विविधतालाई सम्मान गर्दै विद्यालय शिक्षामा आवश्यक व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो। शिक्षाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकार, शिक्षक, अभिभावक तथा सरोकारवाला सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
विद्यालयमा विद्यार्थीहरूको सिकाइ उपलब्धिको नियमित मूल्याङ्कन तथा गुणस्तर सुधारका लागि प्रभावकारी अनुगमन प्रणाली विकास गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
शैक्षिक क्षेत्रको समग्र विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य अपरिहार्य रहेको भन्दै उहाँले सबै पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर घिसिङले गर्नुभएको थियो ।