मानव आवाज

२०८३ कात्तिक १२ गते
00: 00: 00
२०८३ कात्तिक १२ गते

बजार अभाव र भण्डारण सुविधाको कमीले समयअगावै जुनार बेच्न बाध्य किसान

सिन्धुली । गोलन्जोर गाउँपालिकाका किसानले जुनार र सुन्तला खेतीबाट राम्रो आम्दानी गर्दै आए पनि बजार अभाव र भण्डारण सुविधाको कमीका कारण समयअगावै उत्पादन बिक्री गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् ।

गोलन्जोर गाउँपालिकाका ६ ओटै वडाका विभिन्न क्षेत्रमा जुनार तथा सुन्तला खेती हुँदै आएको छ । यहाँको भौगोलिक अवस्था, हावापानी र माटोको उर्वराशक्ति फलफूल खेतीका लागि उपयुक्त भएकाले गाउँपालिकाले जुनार खेतीको पकेट क्षेत्रसमेत घोषणा गरिसकेको छ ।

यस क्षेत्रका किसानले जुनार र सुन्तला बिक्रीबाट वार्षिक आम्दानी गर्दै आफ्नो जीविकोपार्जनमा सहजता ल्याएका छन् ।

यतिबेला तिहार तथा छठ पर्वको अवसरमा सिन्धुलीमाढीको तरकारी तथा फलफूल बजारमा हरियो जुनार र सुन्तला बिक्रीका लागि राखिएको छ ।

जुनार पूर्ण रूपमा पाकेर खानयोग्य हुने समय नजिकिँदै गर्दा बजारमा काँचो जुनार बिक्री हुन थालेपछि किसानको बाध्यता र बजार व्यवस्थापनको अवस्थाबारे प्रश्न उठ्न थालेका छन् ।

सिन्धुलीमाढीलगायतका बजारमा हाल जुनार प्रतिकिलो ८० देखि ९० रुपियाँ र सुन्तला प्रतिकिलो १७० देखि १९० रुपियाँसम्ममा बिक्री भइरहेको जुनार विकास सङ्घले जनाएको छ ।

दश वर्षदेखि जुनार तथा सुन्तला खेती गर्दै आउनुभएकी किसान निर्मला रोक्काका अनुसार जुनार कात्तिक महिनाको अन्तिम सातादेखि खानयोग्य हुन्छ ।

तर, पूर्ण रूपमा पाक्ने समय नआउँदै बजारमा बिक्री गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उत्पादन भण्डारण गरेर राख्ने पर्याप्त सुविधा नहुँदा किसानले समयअगावै फल बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

जुनार कृषक सीता रम्तेलले पनि कात्तिक महिनाको अन्तिम सातादेखि जुनार तथा सुन्तला खानयोग्य हुने भए पनि त्यसबेला बजार पाउन कठिन हुने गरेको बताउनुभयो । बजारको अभावका कारण आफूहरू अहिले नै जुनार बिक्री गर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो ।

किसानले समयअगावै जुनार तथा सुन्तला बिक्री गर्नुपर्ने प्रमुख कारणमध्ये आर्थिक अभाव, बिचौलियाको दबाब, भण्डारण सुविधाको कमी र कमजोर बजार व्यवस्थापन रहेको छ । सिन्धुलीलगायत अन्य जुनार उत्पादन हुने क्षेत्रका किसानले पनि यस्तै समस्या भोग्दै आएका छन् ।

उत्पादनको उचित मूल्य प्राप्त गर्न नसक्दा किसानको आम्दानीमा असर पर्ने गरेको छ । फल टिप्ने उपयुक्त समय, बजारको माग र भण्डारण सुविधाबीच तालमेल नहुँदा किसानले थप चुनौती सामना गर्नुपरेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्‌कर बरालले बताउनुभयो ।

किसानका समस्या समाधान गर्न सहुलियत ऋण उपलब्ध गराउने, शीतभण्डार निर्माण गर्ने, सहकारीमार्फत सामूहिक बिक्री प्रणाली विकास गर्ने तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने व्यवस्था आवश्यक रहेको गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताउनुभयो ।

जुनार सिन्धुलीको प्रमुख कृषि उत्पादनमध्ये एक हो । यस खेतीमा संलग्न किसानलाई समयमै बजार, भण्डारण सुविधा र उत्पादनको उचित मूल्य उपलब्ध गराउन सके किसानको आम्दानी बढाउनुका साथै जुनार खेतीलाई थप व्यावसायिक बनाउन सकिने उपाध्यक्ष न्यौपानेको भनाइ छ ।

किसानले उत्पादन गरेको जुनार उपयुक्त समयमा टिप्ने, सुरक्षित रूपमा भण्डारण गर्ने र बजारको मागअनुसार बिक्री गर्ने व्यवस्था मिलाउन सके उत्पादनको गुणस्तर कायम राख्न तथा किसानले उचित मूल्य प्राप्त गर्न सहज हुने देखिन्छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार