मानव आवाज

२०८३ कात्तिक ११ गते
00: 00: 00
२०८३ कात्तिक ११ गते

डाइभर्सनको अभावमा धुराबजार क्षेत्रमा सवारी आवागमनमा समस्या

सिन्धुली । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली-हेटौँडा सडक खण्डको धुराबजार फाँट क्षेत्रमा सडक कालोपत्रे गर्ने काम भइरहँदा व्यवस्थित वैकल्पिक सडक (डाइभर्सन) को अभावमा सवारी आवागमनमा समस्या भएको छ ।

सडक निर्माणका क्रममा उचित डाइभर्सनको व्यवस्था नहुँदा ठूला तथा साना सबै प्रकारका सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ भएको हो ।

सिन्धुलीको धुराबजारस्थित मिलचोकदेखि बुधवारे हाट क्षेत्रसम्म सडक कालोपत्रे गर्ने काम भइरहँदा सिन्धुलीबाट मिलनचोकतर्फ जाने सवारीसाधनले साँघुरो वैकल्पिक सडक प्रयोग गर्नुपर्ने बाध्यता छ ।

साँघुरो सडक र निर्माण कार्यका कारण सवारीसाधनको आवागमन सहज हुन नसकेको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

प्रमुख पोखरेलका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत धुराबजार चोक र मिलनचोकबाट अन्य मार्ग प्रयोग गर्न सङ्केत राखिएपछि अधिकांश सवारीसाधन धुराबजार-ढुङ्ग्रेबास पुल्चोक हुँदै मिलनचोकतर्फ जान बाध्य भएका छन् ।

तर, उक्त वैकल्पिक मार्गसमेत साँघुरो हुनुका साथै सडक किनारमा नाली खनिएकाले आवागमन थप असहज बनेको छ ।

कमलामाई नगरपालिका-४ का वडाध्यक्ष महेन्द्र ढकालका अनुसार ढुङ्ग्रेबास पुल्चोक हुँदै आवतजावत गर्दा सवारीसाधनले निकै कठिनाइ भोग्नुपरेको छ ।

साँघुरो सडक र खनिएको नालीका कारण ठूला तथा साना सवारीसाधन एकैपटक आवतजावत गर्न समस्या भइरहेको उहाँले बताउनुभयो ।

वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढ्नु र सडक साँघुरो हुनुले दुर्घटनाको जोखिमसमेत बढाएको वडाध्यक्ष ढकालको भनाइ छ ।

निर्माणाधीन सडकमा सहज आवागमनको व्यवस्था नहुँदा यात्रु तथा चालकले सास्ती खेप्नुपरेको निर्माण व्यवसायी सङ्घका अध्यक्ष उद्धव दाहालले बताउनुभयो ।

सडक कालोपत्रेको कामलाई तीव्रता दिँदै सवारी आवागमनलाई सुरक्षित र सहज बनाउन सम्बन्धित निकायले व्यवस्थित डाइभर्सनको व्यवस्था गर्नुपर्ने देखिएको छ ।

साथै, साँघुरो वैकल्पिक सडकमा सवारी व्यवस्थापन, आवश्यक सुरक्षा सङ्केत र सम्भावित दुर्घटना न्यूनीकरणका उपाय अपनाउन सके यात्रु तथा चालकले भोग्दै आएको सास्ती कम गर्न सकिनेछ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार