सिन्धुली । सिन्धुलीमाढी बजारमा म्याद गुज्रिएका खाद्य सामग्री बिक्री भइरहेको, दैनिक उपभोग्य वस्तुको अभाव तथा मूल्यवृद्धि भएको गुनासो आएपछि जिल्ला स्तरीय संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको नेतृत्वमा रहेको टोलीले गोप्य सूचनाका आधारमा २०८३ भदौ १ गते बजार अनुगमन गरेको हो ।
अनुगमनलाई प्रभावकारी र निष्पक्ष बनाउन टोलीमा सहभागी सरोकारवाला निकायका प्रतिनिधिलाई समेत कुनकुन पसलमा अनुगमन गर्ने भन्ने जानकारी नदिई आकस्मिक रूपमा सम्बन्धित पसलमा पुर्याइएको थियो ।
बजार अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका डीएसपी, आन्तरिक राजस्व कार्यालय बर्दिबासका कर्मचारीलगायत सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता थियो ।
टोलीले जिल्ला सदरमुकामस्थित रातमाटाका चार ओटा पसल तथा ढुङ्ग्रेबास बजारमा रहेको एक खाद्य पसलमा अनुगमन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठको नेतृत्वमा रहेको टोलीले ढुंग्रेबासस्थित कमला सप्लायर्समा आकस्मिक अनुगमन गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको नेतृत्वमा रहेको टोलीले रातमाटास्थित रानी सप्लायर्स, दिनेस ट्रेडर्स, बर्गर हाउस र प्रयास डिपार्टमेन्टल स्टोर्समा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बिलबिजक नराखेको तथा आवश्यक मापदण्ड पूरा नगरेको पाइएपछि रानी सप्लायर्स र प्रयास डिपार्टमेन्टल स्टोर्सलाई २५ हजार रुपियाँका दरले जरिबाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुवै पसलका सञ्चालकलाई आवश्यक कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान गरी कानुनी कारबाही अघि बढाइने प्रशासनले जनाएको छ ।
त्यस्तै, ढुङ्ग्रेबासस्थित कमला सप्लायर्समा ठूलो परिमाणमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेको छ । अनुगमन टोलीले उक्त पसलबाट चामल र तिल गरी ८२ बोरा तथा तेललगायतका सामग्री बरामद गरी नष्ट गरेको छ ।
बरामद सामग्रीसम्बन्धी थप अनुसन्धानका लागि आवश्यक बिलबिजक आन्तरिक राजस्व कार्यालय बर्दिबासले साथमा लगेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।
कमला सप्लायर्सका सञ्चालकलाई समेत आवश्यक बयानका लागि तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन बोलाइएको छ । अनुसन्धानपछि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा बर्गर हाउस र दिनेस ट्रेडर्समा भने आवश्यक मापदण्ड पूरा गरेर मात्र वस्तु तथा सेवा बिक्री गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
उपभोक्ताको स्वास्थ्य र अधिकारसँग जोडिएका विषयमा गुनासो बढिरहेका बेला गरिएको आकस्मिक बजार अनुगमनले व्यवसायीलाई मापदण्ड पालना गर्न तथा उपभोक्तालाई समेत सचेत रहन दबाब सिर्जना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आगामी दिनमा पनि प्राप्त सूचना र गुनासोका आधारमा बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ । (फोटो स्रोतः इसिन्धुली)