सिन्धुली । दुधौली नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।
कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारुले प्रस्तुत बजेटमा नगरको समग्र विकास, भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ८३ करोड १२ लाख १ हजार ३ सय रुपियाँ अर्थात् कुल बजेटको ७३.८३ प्रतिशत विनियोजन गरिएको छ ।
त्यस्तै, पूँजीगत खर्चतर्फ २९ करोड ४५ लाख ९८ हजार ७ सय रुपियाँ अर्थात् २६.१७ प्रतिशत बजेट छुट्याइएको छ ।
बजेटको संरचनामा चालु खर्चको हिस्सा पूँजीगत खर्चको तुलनामा उल्लेख्य रूपमा बढी देखिए पनि उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन तथा सबै पक्षको सकारात्मक सहयोगबाट विकास खर्चलाई क्रमशः सन्तुलित बनाउँदै लैजाने अपेक्षा नगरपालिकाले गरेको जनाएको छ ।
नगरपालिकाले प्रस्तुत बजेटमा नगरवासीको जीवनस्तर उकास्ने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा दिगो विकासलाई टेवा पुर्याउने विभिन्न कार्यक्रमहरू समावेश गरेको जनाएको छ ।
नगरसभाबाट आर्थिक वर्ष २०८३/०८४ का नीति, कार्यक्रम, बजेट तथा विभिन्न प्रस्तावहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णयहरू सर्वसम्मतिले पारित गरिएको छ ।
नगरसभाले पारित गरेका नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षमा नगरको विकास निर्माण, सेवा प्रवाह तथा आर्थिक सामाजिक रूपान्तरणलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ ।