मानव आवाज

२०८३ जेष्ठ १४ गते
00: 00: 00
२०८३ जेष्ठ १४ गते

सुनकोशी–मरिण आयोजनाको ठेक्का लिने कम्पनी तीन वर्षका लागि कालोसूचीमा

सिन्धुली । सिन्धुलीस्थित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माण कार्यमा ढिलाइ गर्ने निर्माण कम्पनी रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले २०८३ जेठ १३ गते सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो ।

भारतको निर्माण कम्पनी पटेल–रमण जेभीले २०७९ माघमा १४ अर्ब ७ करोड ५९ लाख रुपियाँमा बाँध, विद्युत्गृहलगायत संरचना निर्माणको ठेक्का लिएको थियो ।

चार वर्ष सात महिनाभित्र काम सक्ने सम्झौता भए पनि ठेक्का अवधिको ६० प्रतिशत समय बित्दा प्रगति ११ प्रतिशत मात्रै भएपछि आयोजनाले ठेक्का तोडेको हो ।

आयोजनाले कार्यसम्पादन जमानत र अग्रिम भुक्तानीबापत राखिएको ३ अर्ब ६० करोड रुपियाँ बराबरको बैङ्क ग्यारेन्टी जफत प्रक्रिया अघि बढाएको जनाएको छ ।

ठेक्का तोड्ने निर्णयविरुद्ध कम्पनीले सर्वोच्च अदालतमा रिट दायर गरे पनि पछि अदालतले अन्तरिम आदेश खारेज गर्दै ग्यारेन्टी जफत गर्ने बाटो खुला गरिदिएको थियो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश गरेको हो ।

जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर प्रेमहरी पराजुलीका अनुसार आयोजनाका लागि नयाँ ठेक्का प्रक्रियाको तयारी भइरहेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा परेका निर्माण व्यवसायीले नयाँ ठेक्कामा सहभागी हुन पाउने छैनन्, तर हाल सञ्चालनमा रहेका काम भने गर्न पाउनेछन् ।

Author

Related News