सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्गमा बसको ठक्करपछि सुनकोसी नदीमा खसेको कार र त्यसमा सवार तीन जनाको अवस्था तीन दिन बित्दासमेत अज्ञात रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार साउन १८ गते काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र. ०८-००१ ख ०१४४ नम्बरको बसले सडक छेउमा रोकिएको प्रदेश ३-०१-०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको थियो ।
दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७ का ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ का २८ वर्षीय गणेश थापा र तीनपाटन गाउँपालिका-९ का १७ वर्षीय सुजन बलम्पाकी मगर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा निरन्तर खोजी भइरहेको छ ।
साउन १९ गतेदेखि ड्रोन, म्याग्नेट तथा अन्य आधुनिक उपकरण प्रयोग गरी खोजीलाई थप तीव्र बनाइए पनि बेपत्ता व्यक्ति तथा कार फेला पार्न सकिएको छैन ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सुनकोशी नदीमा पानीको उच्च बहाव र तीव्र भेलका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको बताउनुभयो ।
उहाँका अनुसार २०८३ साउन २० गते १५ सदस्यीय गोताखोर टोलीले दुई ओटा डुङ्गाको प्रयोग गरी नवलपुरदेखि घुर्मीसम्मका सम्भावित क्षेत्रमा खोजी जारी राखेको छ ।
बसका चालक फिक्कल गाउँपालिका-६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबिच सिन्धुलीको फिक्कल-२ मा तीन दिनअघि बसको ठक्करबाट सुनकोशी नदीमा कार खसेर तीन जना बेपत्ता भएको घटनामा पीडित पक्ष र बस व्यवसायी कम्पनीबिच सहमति भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठका अनुसार २०८३ साउन २० गते साँझ ७ बजे पीडित पक्ष र बस व्यवसायी कम्पनीबिच सहमति भएको हो ।
सिन्धुली प्रहरीका अनुसार सानो गाडीको बीमा दाबी गर्ने र सम्बन्धित परिवारलाई दिने, बीमाबाट कानुनबमोजिम आउने ५ लाख रुपियाँ परिवारलाई उपलब्ध गराउने, परिवारभित्रको एक जनालाई जागिर र सन्तानको अध्ययनको जिम्मा लिने सहमति भएको छ ।
यसबाहेक गणेश हिमाल-तराई यातायात प्रालिले थप २ लाखका दरले पीडित परिवारलाई रकम उपलब्ध गराउने सहमति भएको छ ।
बेपत्तामध्ये लामाका सन्तान र गणेशको पत्नीलाई पढाइदिने र सुजनको परिवारभित्रको व्यक्तिलाई रोजगारी दिने समेत सहमति भएको छ ।