मानव आवाज

२०८३ श्रावण १८ गते
00: 00: 00
२०८३ श्रावण १८ गते

बसको ठक्करपछि कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

सिन्धुली । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा बसले कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खस्दा त्यसमा सवार तीन जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार २०८३ साउन १८ गते करिब ११:४५ बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङतर्फबाट खुर्कोट आउँदै गरेको कारलाई ठक्कर दिएको हो ।

बस फिक्कल गाउँपालिका–६ का २६ वर्षीय हेमबहादुर तामाङले चलाइरहेको र कार सिन्धुपाल्चोक निवासी ३९ वर्षीय दिलकुमार लामाले चलाइरहेको प्रहरीले जनाएको छ ।

ठक्करको प्रभावले कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार चालक दिलकुमार लामा, गोलन्जोर गाउँपालिकाका गणेश थापा तथा नाम, थर र ठेगाना नखुलेका एक जना हेल्पर बेपत्ता भएका जनाइएको छ । उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्रबहादुर सिंहले कार नदीमा खसेको पुष्टि गर्दै प्रारम्भिक रूपमा उक्त कार मध्यपहाडी लोकमार्ग पुनःनिर्माणमा संलग्न ठेकेदार कम्पनीको रहेको खुलेको बताउनुभएको छ । यद्यपि कारमा सवार सबै व्यक्तिको परिचय र विवरणबारे थप पुष्टि गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी तथा पत्रकार घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्यमा जुटेका छन् ।

प्रहरीले दुर्घटनामा संलग्न बस र चालक हेमबहादुर तामाङलाई नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखेको जनाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(२०८३ साउन १८ गते अपडेट ३ः३० बजे)

Author

Share the News

Recent News

Related News