सिन्धुली । कमलामाई नगरपालिकाले पहिलो पटक जलन भएका नगरवासीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ ।
नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको पहल तथा कीर्तिपुर अस्पतालसँगको समन्वयमा यस्तो व्यवस्था गरिएको हो ।
निर्णयसँगै कमलामाई नगरपालिकाभित्रका जलनका बिरामीले कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै जलनका बिरामीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम लागू गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले नगरवासीको स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्दै जलनजस्ता जटिल अवस्थाका बिरामीलाई प्रभावकारी उपचार सुनिश्चित गर्न कीर्तिपुर अस्पतालसँग सहकार्य गरिएको बताउनुभयो ।
उहाँले यस निर्णयबाट विशेषगरी आर्थिक रूपमा विपन्न तथा उपचार खर्च धान्न नसक्ने नागरिकलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार यो कार्यक्रम स्वास्थ्य सेवा विस्तारमा मात्र सीमित नभई नागरिकको जीवनप्रतिको सम्मान, मानवीय संवेदनशीलता र उत्तरदायी स्थानीय सरकारको प्रतिबद्धताको उदाहरण हो ।
कमलामाई नगरपालिकाले नागरिकको स्वास्थ्य, सुरक्षा र जीवनस्तर सुधारलाई केन्द्रमा राखेर यस्ता जनमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।