मानव आवाज

२०८३ बैशाख २९ गते
00: 00: 00
२०८३ बैशाख २९ गते

प्रि-मनसुनको जोखिम बढेपछि बीपी राजमार्ग राति १२ घण्टा बन्द

सिन्धुली प्रि-मनसुन अवधिमै हावाहुरी, चट्याङ, असिना, हिमपातसहित भारी वर्षा भइरहेको र त्यसका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति बढ्न थालेपछि सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सिन्धुली प्रशासनले बीपी राजमार्ग राति १२ घण्टा बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार विपद् अवस्था जुनसुकै बेला सिर्जना हुन सक्ने जोखिम बढेपछि यस्तो निर्णय गरिएको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वैशाख २२ गतेको निर्देशन तथा सिन्धुली र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारीबिच भएको समन्वयपछि जिल्ला सुरक्षा समिति सिन्धुलीको बैठकले उक्त निर्णय गरेको हो ।

निर्णयअनुसार २०८३ वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्म बीपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी सडकखण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म १२ घण्टा सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ ।

यसैबीच काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आउन सक्ने सम्भावित बाढी तथा प्रतिकूल मौसम अवस्थालाई मध्यनजर गर्दै आवश्यक परे अन्य समयमा पनि अल्पकालीन रूपमा सवारी आवागमन रोक्न सकिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले उक्त सडकखण्ड प्रयोग गरी यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यसका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली, ट्राफिक प्रहरी तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत जानकारी लिन सकिने जनाएको छ ।

Author

Share the News

Recent News

Related News