सिन्धुली । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् सिन्धुलीको छैटौँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले इन्द्रबहादुर भुजेलको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सीता स्याङतान, सचिवमा भक्तनारायण श्रेष्ठ, सहसचिवमा कमल हायू, कोषाध्यक्षमा श्रवणकुमार दनुवार तथा सदस्यहरूमा मिनबहादुर थामी, इन्द्रलक्ष्मी देवी सुनुवार, तारा माझी र रुपचन्द्र गुरुङ चयन हुनुभएको छ । सचिव पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको थियो ।
सचिव पदका लागि भएको निर्वाचनमा भक्तनारायण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी चुलबहादुर पुलामीलाई ८ मतले पराजित गर्नुभएको हो ।
निवर्तमान अध्यक्ष तुलबहादुर गुरुङले कुल ९ मत खसेको निर्वाचनमा श्रेष्ठले ८ मत प्राप्त गर्दा पुलामीले १ मत प्राप्त गरेको जानकारी दिनुभयो ।
अधिवेशन परिषद्का अध्यक्ष तुलबहादुर गुरुङको अध्यक्षता तथा महासङ्घको सङ्घीय सचिवालयका महासचिव बिमल सारु मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै वक्ताहरूले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति तथा अधिकार संरक्षणका लागि राज्यसँगै समुदाय स्वयम् पनि जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।
उनीहरूले आदिवासी जनजातिको हकहित सुनिश्चित गर्न एकताबद्ध प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
अधिवेशनका अवसरमा परिषद्ले आदिवासी जनजाति सङ्ग्रहालय निर्माणमा योगदान पुर्याएको भन्दै खड्गबहादुर खत्री लाई सम्मानसमेत गरेको छ ।