सिन्धुली । भिमानलाई बालश्रम, बालविवाह तथा सडक बालबालिका मुक्त वडा घोषणा गरिएको छ ।
बालअधिकार संरक्षण, बालश्रम तथा बालविवाह न्यूनीकरण र सडक बालबालिकाको उद्धार तथा पुनःस्थापनामा स्थानीय तहको सक्रियतासँगै समुदायको सहकार्यपछि उक्त घोषणा गरिएको हो ।
प्लान इन्टरनेशनल नेपाल र ह्याण्डस् नेपालको सहयोग तथा कमलामाई नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा वडालाई बालश्रम मुक्त, बालविवाह मुक्त र सडक बालबालिका मुक्त वडा घोषणा गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले बालश्रम, बालविवाह र सडक बालबालिका अन्त्यका लागि समुदाय, अभिभावक तथा सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
उहाँले कुनै पनि बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ नगरपालिकाले आवश्यक आर्थिक व्यवस्थापन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
नगर प्रमुख पोखरेलले बालबालिकाले शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवासुविधा पाउनु उनीहरूको संवैधानिक अधिकार भएको बताउँदै ती अधिकारको प्रत्याभूति राज्यले गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
बालबालिकाको भविष्यमा गरिएको लगानी नै समृद्ध राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै उहाँले नेपालको संविधानले सुनिश्चित गरेका बालअधिकार कार्यान्वयनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नगर क्षेत्रभित्र रहेका सडक बालबालिकाको उद्धार, संरक्षण, आवासीय व्यवस्थापन तथा पठनपाठनको जिम्मेवारी नगरपालिकाले लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख मञ्जु देवकोटा, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, महिला तथा बालबालिका शाखाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष तथा सदस्य, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, प्लान इन्टरनेशनल नेपाल र ह्याण्डस् नेपालका प्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।