सिन्धुली । सिन्धुलीमा आपत्कालीन स्वास्थ्य सेवाको महत्वपूर्ण आधार मानिने एम्बुलेन्स सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा रेफर गरिएका बिरामीले समेत समयमै उपचारका लागि अन्य अस्पताल पुग्न नपाउने अवस्था देखिएको छ ।
रातिको समयमा एम्बुलेन्स सञ्चालन गर्न नमान्ने, फोन सम्पर्कमा नआउने तथा बिग्रिएको वा अक्सिजन नभएको भन्दै सेवा उपलब्ध नगराउने प्रवृत्तिका कारण बिरामीको जीवन जोखिममा पर्ने गरेको गुनासो बढेको छ ।
सिन्धुली अस्पतालबाट थप उपचारका लागि रेफर गरिएका कमलामाई नगरपालिका-५, हाइटारका तीर्थबहादुर स्याङ्वाले एम्बुलेन्स उपलब्ध हुन नसक्दा अस्पतालको आकस्मिक कक्षमै ज्यान गुमाउनुपरेको परिवारको भनाइ छ ।
दमलगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित स्याङ्वालाई राति करिब १० बजे सिन्धुली अस्पताल ल्याइएको थियो ।
स्वास्थ्य अवस्था थप जटिल भएपछि अस्पतालले राति करिब १२ बजे थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरेको थियो ।
तर, आफन्तले तत्काल एम्बुलेन्स खोज्दा करिब ६ घण्टासम्म पनि एम्बुलेन्स उपलब्ध हुन नसकेको परिवारले जनाएको छ । बिहान करिब ६ बजे अस्पतालमै स्याङ्वाको मृत्यु भएको थियो ।
मृतकका छोरा प्रकाश स्याङ्वाका अनुसार अस्पताल परिसरमा राखिएका विभिन्न एम्बुलेन्सका नम्बरमा पटक-पटक फोन गर्दा पनि सेवा उपलब्ध हुन सकेन ।
सिन्धुली अस्पतालको एम्बुलेन्स बिरामी लिएर काठमाडौं गएको र अस्पताल परिसरमै रहेको रेडक्रसको एम्बुलेन्समा सम्पर्क गर्न खोज्दा फोन नउठेको उनको भनाइ छ ।
सिन्धुली अस्पतालका प्रशासक विमल श्रेष्ठले अस्पतालसँग एउटा मात्र एम्बुलेन्स रहेको र उक्त एम्बुलेन्स जुनसुकै समयमा सेवा दिन उपलब्ध हुने बताउनुभयो ।
तर, जिल्लाका अन्य एम्बुलेन्स रातिको समयमा सञ्चालन गर्न नमान्ने गुनासो पटक-पटक आउने गरेको उहाँले स्वीकार गर्नुभयो । चाडपर्वका समयमा यस्तो समस्या झन् बढ्ने गरेको श्रेष्ठको भनाइ छ ।
एम्बुलेन्स सेवा आपत्कालीन अवस्थामा बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउने महत्वपूर्ण माध्यम मानिन्छ ।
तर, सिन्धुलीमा सञ्चालित एम्बुलेन्सको नियमित उपलब्धता, रातिको समयमा सेवा सञ्चालन, अक्सिजनलगायत अत्यावश्यक उपकरणको अवस्था तथा सेवा प्रभावकारिताबारे नियमित र प्रभावकारी अनुगमन हुन नसकेको गुनासो छ ।
समयमै एम्बुलेन्स उपलब्ध नहुँदा बिरामीको ज्यानै जोखिममा पर्ने घटना सार्वजनिक भएपछि जिल्लामा एम्बुलेन्स सेवाको नियमन, अनुगमन र आपत्कालीन समयमा सेवा सुनिश्चित गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।