मानव आवाज

२०८३ श्रावण १४ गते
00: 00: 00
२०८३ श्रावण १४ गते

सिन्धुली अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प, ओपीडी बन्द हुँदा बिरामी मर्कामा

सिन्धुली पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको विरोधमा नेपाल चिकित्सक सङ्घले आह्वान गरेको देशव्यापी आन्दोलनअन्तर्गत सिन्धुली अस्पतालमा पनि आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै सेवा बन्द गरिएको छ ।

नेपाल चिकित्सक सङ्घको कार्यक्रमअनुसार २०८३ साउन १३ गते सिन्धुली अस्पतालमा ओपीडी (बहिरङ्ग) लगायत आकस्मिकबाहेकका सम्पूर्ण सेवाहरू स्थगित गरिएको अस्पतालले जनाएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सेवा बन्द गरेका हुन् ।

सिन्धुली अस्पतालले जारी गरेको वक्तव्यमा बिरामीहरूको हितलाई ध्यानमा राख्दै २४सै घण्टा आकस्मिक सेवा तथा तत्काल उपचार आवश्यक पर्ने बिरामीहरूको सेवा भने निरन्तर सञ्चालन भइरहेको उल्लेख गरिएको छ ।

२०८३ साउन ९ गते नारायणी अस्पतालका चिकित्सकमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाको भर्त्सना गर्दै नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको थियो ।

सिन्धुली अस्पतालका चिकित्सकहरूले स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा बारम्बार हुने कुटपिट र तोडफोडका घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

अचानक ओपीडी सेवा बन्द भएपछि उपचारका लागि टाढाटाढाबाट आएका सर्वसाधारण बिरामीहरू भने मर्कामा परेका छन् ।

चिकित्सकहरूले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म निर्धक्क भएर सेवा दिन कठिन हुने भन्दै सरकारसँग स्वास्थ्य संस्थाको सुरक्षा सुदृढ बनाउन र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

Author

Share the News

Recent News

Related News