मानव आवाज

२०८३ श्रावण १९ गते
00: 00: 00
२०८३ श्रावण १९ गते

स्थानीय सरकार र समुदायको सहकार्यमा डकाहामा इलाका प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन

सिन्धुली सिन्धुलीको दुधौली नगरपालिका-४ डकाहास्थित नवनिर्मित इलाका प्रहरी कार्यालय डकाहाको प्रशासनिक भवन उद्घाटन तथा प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

स्थानीय सरकार, समुदाय र सुरक्षा निकायको सहकार्यमा निर्माण सम्पन्न भएको उक्त भवनबाट डकाहा क्षेत्रका नागरिकले थप व्यवस्थित, सहज र प्रभावकारी सुरक्षा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

दुधौली नगरपालिका-४ का वडा अध्यक्ष रितबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्रकिशोर थारुले भवनको उद्घाटन गर्नुभयो ।

उहाँले स्थानीय सरकार र प्रहरीबिच शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सुदृढ समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यवाहक नगरप्रमुख थारुले गाउँ समाजमा देखिने विकृति-विसङ्गति न्यूनीकरण गर्न स्थानीय सरकार र प्रहरीबिच सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा जोड दिँदै नवनिर्मित भवनले नागरिकलाई आवश्यक सुरक्षा सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनिर्मित प्रशासनिक भवनको चाबी इलाका प्रहरी कार्यालय डकाहाका प्रमुख प्रहरी निरीक्षक सपना खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

वडा अध्यक्ष विश्वकर्माले भवन निर्माण स्थानीय सरकार, समुदाय र सुरक्षा निकायबिचको सहकार्यको सफल उदाहरण भएको उल्लेख गर्दै निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले नयाँ भवनले नागरिकलाई गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य सुरक्षा सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भवन निर्माणका लागि दुधौली नगरपालिका-४ को कार्यालयबाट ६ लाख रुपियाँ र वडा नम्बर ६ बाट २ लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।

स्थानीयवासीको श्रमदान तथा अन्य सहयोगसमेत जुटाइएकाले करिब १० लाख ३५ हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएको जनाइएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय तहले प्रहरी संरचना निर्माणमा गरेको सहयोग प्रशंसनीय रहेको बताउँदै नागरिकको शान्ति सुरक्षा, सेवा प्रवाह र कानुनी शासनलाई प्रभावकारी बनाउन स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा राख्नुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंहले स्थानीय समुदाय र जनप्रतिनिधिको सहयोगमा निर्माण भएको भवनले प्रहरी सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

उहाँले समुदाय-प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै नागरिकमैत्री प्रहरी सेवालाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News