ललितपुर । ललितपुर जिल्लामा महिला मतदाताको सङ्ख्या पुरुषभन्दा बढी रहेको तथ्याङ्कले देखाएको छ ।
ललितपुरका तीन ओटै क्षेत्रमा गरी पुरुषभन्दा ६ हजार १ सय ५८ जना बढी महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ ।
क्षेत्र नं १ का कन्ज्योसम, गोदावरीका १२ ओटा वडा, बागमती र महाङ्काल गाउँपालिकामा गरी कुल ७७ हजार ७ सय ३७ मतदाता रहेका छन् । यसमध्ये पुरुष ३८ हजार ८ सय ४० र महिला ३८ हजार ८ सय ९७ रहेका छन् । गोदावरी नगरपालिकामा मात्रै सबैभन्दा धेरै ४७ हजार ४१ जना मतदाता रहेका छन् ।
क्षेत्र नं. २ मा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका ८, ९, ११, १२, १६, १७ र १९ नं वडा पर्दछन् । यहाँ कुल ८९ हजार ८२ जना मतदाता छन् । क्षेत्र नं २ मा पुरुष मतदाता ४३ हजार २ सय ९८ रहँदा महिला मतदाता ४५ हजार ७ सय ८४ रहेका छन् । यस क्षेत्रमा पनि महिलाको सङ्ख्या उल्लेख्य रूपमा बढी देखिएको छ ।

त्यसैगरी ललितपुर क्षेत्र नं. ३ अन्तर्गत गोदावरी नगरपालिकाको वडा नं १२ र १४ तथ ललितपुर महानगरपालिकाका २० ओटा वडा पर्दछन् । यहाँ १ लाख २ हजार ४ सय ३७ जना मतदाता रहेका छन् ।
क्षेत्र नं ३ मा पुरुष ४९ हजार ४ सय ११ र महिला ५३ हजार २६ जना मतदाता रहेका छन् । ललितपुर महानगरपालिकामा मात्रै १ लाख ३७ हजार १सय २९ जना मतदाता रहेका छन्, जुन जिल्लाकै सबैभन्दा ठूलो मतदाता सङ्ख्या हो।
जिल्लाभरका तीनै निर्वाचन क्षेत्रमा महिला मतदाताको सङ्ख्या पुरुषभन्दा बढी देखिनुले आगामी निर्वाचनमा महिलाको भूमिका निर्णायक हुने सङ्केत गरेको छ ।
