मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

बागमती प्रदेशसभाका सभामुख पाठकको राजीनामा

हेटौँडा । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले २०८२ असोज १ गते पदबाट राजीनामा दिनु भएको छ ।

उहाँले उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम राजीनामा पत्र बुझाउनु भएको हो । यससँगै बागमती प्रदेशसभाको सभामुख पद रिक्त भएको छ ।

यसअघि जेएनजीको आन्दोलन चलिरहेका बेला २०८२ भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नु भएका पाठकले आधिकारिक पत्र भने आज मात्रै प्रस्तुत गर्नु भयो ।

पेस गरिएको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री तथा प्रदेश सभा सचिवालयलाई समेत पठाइएको छ ।

राजीनामा पत्रमा पाठकले जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाले ज्यान गुमाउनु परेको घटनाले आफूलाई गहिरो भावनात्मक आघात पुर्‍याएको उल्लेख गर्नु भएको छ ।

जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन उचित नठानेकाले राजीनामा दिने निर्णयमा पुगेको उहाँले उल्लेख गर्नु भएको छ । उहाँले सांसद पदबाट भने राजीनामा दिनुभएको छैन ।

पाठक २०७९ पुस २८ गते भएको सभामुख निर्वाचनमा ६२ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनु भएको हो ।

राप्रपाका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्नु भएका पाठकलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन गरेका थिए ।

Author

Related News