मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सिन्धुलीका सरकारी कार्यालयमा अपाङ्गतामैत्री भवन नहुँदा असहज

रुद्रबहादुर खड्का, सिन्धुली ।

सरकारी संरचना अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा लिन मुस्किल भएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका भवनहरूबाट पनि सेवा लिन उनीहरुलाई गाह्रो भएको हो । पछिल्लो समय बनेका केही भवनहरु लिफ्टसहित निर्माण हुँदै छन् ।

जिल्लामा जिल्ला अस्पताल बाहेक अन्य भवनमा हाल लिफ्ट छैन । लिफ्ट नहुँदा माथिल्लो तल्लामा पुगेर सेवा लिने सम्भावना अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष गरी ह्विलचियर प्रयोग गर्नेलाई त्यो सम्भव छैन ।

सरकारले भवन निर्माण गर्दा अपाङ्गतामैत्री हुनुपर्ने प्रावधान राखेको भएपनि देखावटी मात्रै भएको र आफूहरूको लागि सहज नभएको अपाङ्गता भएका व्यक्तिहरूको भनाई छ ।

सरकारी कार्यालयमा दैनिक रुपमा सेवा लिन आउने अपाङ्गतामैत्री नहुँदा सेवाबाटै वञ्चित हुनुपर्ने अवस्था छ । अपाङ्ग महिला सङ्घकी जिल्ला अध्यक्ष दिपा देवकोटाले भन्नु भयो-’केही कार्यालयहरूले अपाङ्गतामैत्री बनाउन खोजेका छन्, तर त्यो पूर्ण मापदण्ड अनुसार छैन, जसले गर्दा हामीले सेवा लिन सक्ने अवस्था छैन ।’

पछिल्लो समयमा बनेका केही भवनमा अपाङ्गताको मापदण्ड अनुसार केही संरचना बनेको भएपनि त्यो उपयुक्त र प्रभावकारी नभएको जिल्लास्थित अपाङ्गता भएका व्यक्तिहरूको भनाई छ ।

जिल्लाका निर्माण सम्पन्न भएका भवन र निर्माणाधीन भवनहरु अपाङ्गतामैत्री बनाउनुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारी सहित जिल्लास्थित सरोकार राख्ने कार्यालयहरूमा अपाङ्ग महिला सङ्घको नेतृत्वमा सबै कार्यालयलाई ध्यानाकर्षण गराइएको सङ्घले जनाएको छ ।

’सरकारी मापदण्ड छ, अपाङ्गतामैत्री बनाउनु पर्छ भन्ने तर त्यो औपचारिकतामा मात्रै सीमित देखियो त्यसैले हामीले सबै कार्यालयलाई ध्यानाकर्षण गराएका छौँ ।’-अध्यक्ष देवकोटाले भन्नु भयो ।

प्रायजसो कार्यालयका प्रमुखहरू माथिल्लो तल्लामै बस्ने व्यवस्था गरिएको हुन्छ जसको प्रत्यक्ष असर अपाङ्गता भएका समूहलाई परेको छ ।

सरकारको मापदण्ड भएपनि जिल्लाका सरकारी कार्यालयले औपचारिकतामा त्यही र्‍याम बनाउने काम भन्दा बाहेक केही नगरेको उनीहरूको गुनासो छ ।

‘र्‍याम मात्रै बनाएको भरमा अपाङ्गतामैत्री भवन हुँदैन ।’-नवज्योति बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङले भन्नु भयो-’रङ कोण राखिएको छैन, अपाङगहरुले प्रयोग गर्न सक्ने शौचालय छैन, हेल्प डेक्स अग्ला छन्, होचा र ह्विलचियर प्रयोग गर्नेको पहुँचमा छैन बहिराहरूका लागि सहज छैन, त्यसैले कुनै पनि कार्यालय अपाङ्गतामैत्री छैन ।

नयाँ निर्माण हुने संरचना अपाङ्गतामैत्री नै बन्ने र पुराना भवनहरूलाई पनि क्रमशः सुधार गर्दै लैजाने योजना रहेको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेको भनाई छ ।

‘अपाङ्ग महिला सङ्घको टिम नै कार्यालयमा आएर ध्यानाकर्षण गराएको छ, हामी हाम्रो बजेट मापदण्डले भ्याएसम्मका संरचनामा पूर्ण अपाङ्गमैत्री भवन बनाउँदै जानेछौँ ।’-उहाँले भन्नु भयो-‘अब बन्ने भवनहरूमा धेरै नै अपाङ्गतामैत्री हुनेछ ।

Author

Related News