काठमाडौँ । आगामी सात दिनसम्म निरन्तर वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचनाले किसानमा चिन्ता बढिरहेका बेला मौसम पूर्वानुमान महाशाखाले आधिकारिक सूचनामा मात्रै विश्वास गर्न आग्रह गरेको छ ।
महाशाखाका अनुसार आगामी मङ्गलबारदेखि देशका केही भूभागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि वर्षाको क्षेत्र, मात्रा र अवधि अहिले नै यकिन गर्न सकिने अवस्था छैन । त्यसैले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाका आधारमा त्रसित नहुन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् राजन महर्जनले मौसमी प्रणाली परिवर्तनशील हुने भएकाले लामो अवधिको मौसम पूर्वानुमानलाई निश्चित ठानेर धारणा बनाउन नहुने बताउनुभयो ।
“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ भन्ने निश्चित छैन ।”-उहाँले भन्नुभयो ।
सामाजिक सञ्जालमा सात दिनसम्म वर्षा हुने भन्दै फैलाइएको खबरले विशेषगरी किसानमा चिन्ता बढाएको उहाँको भनाइ छ ।
मौसमको अवस्थाबारे यकिन जानकारी नलिई हल्लाको पछि लाग्दा अनावश्यक त्रास सिर्जना हुन सक्ने भएकाले विभागका सूचनालाई आधार बनाउन उहाँले आग्रह गर्नुभयो ।
मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा तीन दिनसम्मको मौसम पूर्वानुमान तुलनात्मक रूपमा बढी विश्वसनीय हुन्छ । तर, एक सातासम्मको पूर्वानुमानमा अनिश्चितता बढी हुने भएकाले त्यसलाई निश्चित अवस्थाका रूपमा बुझ्न मिल्दैन ।
महाशाखाले आगामी दिनमा मौसमी प्रणालीको अवस्था विश्लेषण गरेर वर्षासम्बन्धी थप जानकारी सार्वजनिक गर्ने जनाएको छ । वर्षाको सम्भावना र त्यसको प्रभावबारे आधिकारिक सूचना प्राप्त भएपछि मात्रै आवश्यक तयारी तथा योजना बनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।
मौसमसम्बन्धी अपुष्ट खबरका आधारमा आत्तिनुभन्दा विभागबाट जारी हुने नियमित पूर्वानुमान र अद्यावधिक सूचनालाई प्राथमिकता दिनु उपयुक्त हुने देखिन्छ ।