ललितपुर । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य गर्नका लागि गठित दुई आयोगका पदाधिकारीको नियुक्ति बदर र त्यससम्बन्धी कानुनी व्यवस्था खारेज हुनुपर्ने माग राखी पेश भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ ।
द्वन्द्वपीडित रामकुमार भण्डारीलगायत ३ सय ३४ जना द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्नु भएको थियो ।
आफूहरुलाई नियुक्तिको आधार र कारण खुलाएर कुनै जानकारी नदिएको, द्वन्द्वपीडितसँगको परामर्श र छलफलविना नै पदाधिकारी नियुक्त गरिएको भन्दै द्वन्द्वपीडितहरुले उनीहरुको नियुक्ति खारेजीको माग गरेका हुन् ।
उनीहरुले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को कतिपय प्रावधान संविधानसँग बाझिएको भन्दै बदर गर्न माग गरेका थिए ।
अनि ऐनको आवश्यक संशोधन र परिमार्जन गर्न लगाउन सरकारका नाममा परमादेश माग गरेका थिए ।
सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले आयोगका पदाधिकारी नियुक्तिको विषयसँग रिट निवेदकहरुको सार्थक सम्बन्ध र तात्विक सरोकार पुष्टि हुने प्रमाण नभएको भन्दै निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) को आदेश गर्नु भएको बताइएको छ ।
दरपीठ आदेशमा भनिएको छ-‘आयोगका पदाधिकारीहरुको नियुक्ति बदर र सूचनाको हक एवम् संवैधानिक इजलासको अधिकारक्षेत्र अन्तर्गत सम्बन्धित विषय एकै निवेदनमा उठान गरी पेश हुन आएको प्रस्तुत निवेदन यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत संवैधानिक इजलासमा पेश गर्ने गरी दर्ता गर्न मिलेन ।’
द्वन्द्वपीडितहरूले दरपीठ आदेश विरुद्ध सर्वोच्च अदालतमा नै फेरि अर्को निवेदन दर्ता गर्ने तयारी गरेका छन् ।
सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको(दरपीठ) आदेश विरुद्ध सर्वोच्च अदालतमै निवेदन दिन मिल्ने प्रावधानलाई समातेर निवेदनको तयारी गरिएको निवेदनकर्ता भण्डारीले बताउनु भएको छ ।
सङ्क्रमणकालिन न्यायका लागि गठन गरिएका दुवै आयोगका पदाधिकारीहरु चयन प्रक्रियादेखि नै प्रश्न उठाउँदै र त्यससम्बन्धी काम कारवाहीमा असन्तुष्टी व्यक्त गर्दै आएका द्वन्द्वपीडितले नागरिक आयोग गठनको समेत तयारी गरिरहेका छन् ।
विभिन्न राजनीतिक दलदेखि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएका द्वन्द्वपीडितहरु नियुक्तिको बदर माग गरेर सर्वोच्च अदालत पुगेका हुन् ।

