ललितपुर । रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले नयाँ नैकापस्थित मङ्गल माध्यमिक विद्यालयलाई नयाँ फर्निचर हस्तान्तरण गरेको छ ।
बालबालिकाहरुका लागि बालमैत्री शिक्षण सिकाइ कार्यलाई सहज बनाउनका सहयोग गर्ने उद्देश्यका साथ फर्निचर हस्तान्तरण गरिएको हो ।
२ लाख ५० हजार रुपियाँ बराबरको डेस्क र बेन्च विद्यालयलाई हस्तान्तरण गरिएको रोटरी क्लब अफ डिल्लीबजारले जनाएको छ ।
हस्तान्तरण कार्यक्रम रोटरी क्लब डिल्लीबजार काठमाडौँका प्रेसिडेन्ट प्रेमकुमार वलीको अध्यक्षता एवम् चन्द्रागिरी नगरपालिका वडा नं १४ का वडा अध्यक्ष राजभाइ महर्जनको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा रोटरी क्लब डिल्लीबजारका पास्ट प्रेसिडेन्ट लीलानाथ शर्मा, सेक्रेटरी सन्ध्या राजभण्डारी, फर्निचरका सौजन्यकर्ता भेप्स ग्लोबलका प्रोपराइटर ममिसा अधिकारी, सहजकर्ता भिडिएसका प्रोपराइटर सुरज काफ्ले लगायत महानुभावहरुको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक कृष्णहरि कार्कीले स्वागत मन्तव्यका साथै विद्यालयका गतिविधि र हालको विद्यालयको अवस्थामाथि जानकारी गराउनु भएको थियो ।
रोटरी क्लब डिल्लीबजारले नियमित रुपमा विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधारका लागि काम गरिरहेको छ ।
यसअघि पनि सोलुखुम्वु, बाँके, जाजरकोट, झापा लगायतका जिल्लाहरुमा विद्यालयको समग्र शिक्षाको सुधारका लागि विभिन्न खालका परियोजनाहरु तथा कार्यक्रमहरु सञ्चालन गरिएका थिए ।
आगामी दिनमा पनि निरन्तर रुपमा आवश्यक स्रोत जुटाएर शैक्षिक विकासका लागि पहल गर्ने योजना रहेको क्लबका अध्यक्ष प्रेम वलीले बताउनु थियो ।
रोटरी क्लब अफ डिल्लीबजारको पहलमा चन्द्रागिरी नगरपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक तथा नर्सहरूका लागि स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यो अवसरमा बालबालिकाको आँखासम्बन्धी स्वास्थ्य अभिमुखीकरण पनि गरिएको आयोजकले जनाएको छ ।