मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

पोखरामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारसम्बन्धी तालिम

पोखरा। राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ)को आयोजनामा पोखरामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारसम्बन्धी आधारभूत सिफारिस नम्बर (जिआर)–३९ सम्बन्धी दुईदिने तालिम सुरु भएको छ।

तालिम निफ केन्द्रीय समितिको आयोजना तथा गण्डकी प्रदेश समन्वय परिषद्को समन्वयमा २०८२ साउन ७ र ८ गते सञ्चालन भइरहेको छ ।

गण्डकी प्रदेशका ५५ जना महिलाको सहभागिता रहेको यो तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले संविधानको गलत व्याख्या गर्न खोज्ने तत्व समाजमा मिलेर प्रगति गर्न नसक्ने सोचका कारण मात्र सीमित रहेको बताए।

‘हिजो अरुको अधिकार खोसेर शासनमा रमाउने वा जातीय र सामाजिक उत्पीडन गर्नेहरूले अहिलेको संविधानको सही मूल्य बुझ्न सक्दैनन्। तर, समाजमा मिलेर प्रगति गर्नेहरूले यो संविधानको गलत व्याख्या गर्न सक्दैनन् ।’-उहाँले भन्नु भयो ।

उहाँले राज्य सबैको हो भन्ने भावना कायम राख्दै संविधानको सकारात्मक पक्षलाई आत्मसात गर्न सबैलाई आग्रह गर्नु भएको छ ।

‘तीन तहको सरकार र समानुपातिक प्रतिनिधित्वमार्फत राज्य सबैको सहभागिताले चलेको छ। यस्तो उत्कृष्ट संविधानको नकारात्मक व्याख्या गर्नेतर्फ लाग्नु हुँदैन ।’-उहाँले थप्नु भयो ।

गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले मगर र गुरुङ भाषासम्बन्धी विधेयक पारित भइसकेको र घरेलु मदिरा व्यवस्थापनसम्बन्धी विधेयक पनि छिट्टै पारित हुने जानकारी दिनु भयो ।

उहाँले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धीको सिफारिस नम्बर ३९ गण्डकी प्रदेश सभामा समेत उठाउने प्रतिबद्धता जनाउनु भयो ।

त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक तथा तालिमकी प्रशिक्षक मिना गुरुङले सिफारिस नम्बर ३९ आदिवासी महिला र किशोरीका अधिकारका लागि मात्र नभई सबै महिलाका लागि महत्वपूर्ण भएको बताउनु भयो ।

‘संविधानले बोलेका छैनन् भन्न सकिने धेरै मुद्दाहरू यस सिफारिसले बोल्छ। विशेषगरी आदिवासी महिला र किशोरीका आवाजलाई संस्थागत बनाउने महत्वपूर्ण साधन हो ।’-उहाँले भन्नु भयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, राजकुमारी भुजेल, तमु ह्युल छोंज धींका उपमहासचिव विष्णु गुरुङ, निफ गण्डकीका सल्लाहकार पूर्ण लामा र श्याममाया पुन मगर, आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष स्रुति कुमाल, निफ गण्डकी प्रदेश संयोजक माया गुरुङ भुजेल, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ लगायतले मन्तव्य राख्नु भएको थियो।

कार्यक्रम निफ उपाध्यक्ष कल्पना भट्टचनको अध्यक्षता, कोषाध्यक्ष देउ छन्त्यालको स्वागत र सचिव मिलन भुजेलको सञ्चालनमा सम्पन्न भएको हो।

Author

Related News