मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

सिन्धुली–हेटौंडा सडकखण्डमा डेढ किलोमिटर अझै अधुरो

रूद्रबहादुर खड्का, सिन्धुली

मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली–हेटौंडा जोड्ने १ सय २० किलोमिटर सडकखण्डमध्ये करिब डेढ किलोमिटर सडक अझै निर्माण हुन सकेको छैन ।

सिन्धुली सदरमुकामबाट हेटौंडातर्फ लाग्दा विभिन्न आधा दर्जनभन्दा बढी स्थानमा सडक समस्या देखिएको छ । ८५ किलोमिटर सडक सिन्धुली र बाँकी ३५ किलोमिटर हेटौंडा क्षेत्रअन्तर्गत पर्छ । तीन वर्षअघि सञ्चालनमा आएको यो सडकको केही खण्ड अझै अलपत्र अवस्थामा छ ।

सुरुमा स्थानीयवासीको अवरोधका कारण सडक निर्माणमा ढिलाइ भएको थियो। पछि सहमति जुटे पनि बजेट अभावका कारण काम अघि बढ्न सकेन ।

अहिले पनि विवादित खण्डमा सडकको अवस्था पूर्ववत छ। यद्यपि बाँकी दुई लेन कालोपत्र सडक भएर सवारी सहज रुपमा चलिरहेको छ र ट्राफिक जामको सास्ती छैन । हाल साढे दुई घण्टामा सिन्धुलीबाट हेटौंडा पुग्न सकिन्छ ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारासाङ लामा भन्छन्, “सडकको मापदण्ड र मुआब्जाको विषयमा लामो समय रस्साकस्सी भयो ।

नालीबाहेक ११ मिटर सडक बनाउने सहमतिपछि अधिकांश खण्डमा काम सम्पन्न भएको हो ।” उनका अनुसार ठेक्का लिएको कालिका कन्स्ट्रक्सन कम्पनीले विवादित ठाउँ छाडेर अन्य खण्ड निर्माण गरी सडक विभागलाई हस्तान्तरण गरिसकेको छ ।

प्रमुख लामाका अनुसार, “अब थप बजेट माग गरेर मात्र बाँकी खण्डमा काम गर्न सकिन्छ । अहिले स्थानीयसँग सहमति भइसकेको छ । तर बजेटको अभाव देखाउँदै सडक डिभिजन हेटौंडाले काम अघि बढाएको छैन । अर्को वर्षका लागि दबाब दिइएको छ ।”

कमलामाई नगरपालिका–६ र ४ नम्बर वडाका विभिन्न चार स्थानमा सडक निर्माण हुन सकेको छैन । मुआब्जा र मापदण्डसम्बन्धी विवादका कारण वडा नम्बर ६ को धुरान सिरानमा करिब २०० मिटर सडक कालोपत्र हुन सकेन । ढकालगाउँ, साङबाले, खट्टार, मरिण र हरिहरपुरगढी क्षेत्रमा पनि यस्तै समस्या देखिएको छ ।

जङ्गल र बस्ती हुँदै निर्माण गरिएको यो राजमार्ग विकासको महत्वपूर्ण आधार हो । अधुरो सडक खण्ड यथाशीघ्र निर्माण गरिएमा सिन्धुली–हेटौंडाबीचको यातायात झनै सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Author

Related News