ललितपुर । सौन्दर्य प्रतियोगिता केवल व्यक्तित्व प्रदर्शन गर्ने मञ्च होइन । आफ्नो देशको कला, संस्कृति र पहिचान विश्वसामु चिनाउने अवसर पनि हो । यही अवसरलाई उपयोग गर्दै नेपाली व्यवसायी तथा मोडल रोजी श्रेष्ठले थाइल्यान्डको बैङ्ककमा नेपालको मौलिक संस्कृति प्रस्तुत गर्नुभयो । कुमारी नृत्यमार्फत उहाँले अन्तर्राष्ट्रिय दर्शकको ध्यान खिच्न सफल हुनुभयो ।
यिनै उपलब्धिका बारेमा जानकारी दिन २०८३ कात्तिक २० गते ललितपुरको महालक्ष्मीस्थानमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा श्रेष्ठ मिसेस नेपालकै झल्को दिने पहिरनसहित उपस्थित हुनुभएको थियो । उहाँको उपलब्धिमा पति रोशन श्रेष्ठको सहयोग, समन्वय, समर्पण र सक्रियता रहेको बताइएको छ ।

१६ देशका प्रतिस्पर्धी सहभागी ‘क्लासिक मिसेस एसिया इन्टरनेसनल’ प्रतियोगितामा श्रेष्ठले तीन ओटा उपाधि हात पार्नुभयो । उहाँले ‘मिसेस एसिया फ्रेन्डसिप विनर’, ‘मिसेस ट्यालेन्ट क्विन’ र ‘मिसेस कन्फिडेन्स एसिया’ को उपाधि आफ्नो नाममा पार्न सफल हुनु भयो । यी सफलताबाट उहाँले मुलुकको पहिचान बढाउन मद्दत पुगेको बताइएको छ ।
प्रतियोगितामा उहाँको प्रस्तुति नेपाली कला र संस्कृतिमा केन्द्रित थियो । कुमारी नृत्यमार्फत उहाँले नेपालको धार्मिक तथा सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउनुभयो । उहाँको प्रस्तुतिले सौन्दर्यसँगै सांस्कृतिक पहिचानको महत्त्व पनि उजागर गर्यो ।
श्रेष्ठका लागि यो सफलता पहिलो अन्तर्राष्ट्रिय उपलब्धि भने होइन । यसअघि उहाँ ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड’ की विजेता बन्नुभएको थियो । त्यसैको निरन्तरताका रूपमा उहाँले एसियाली मञ्चमा आफ्नो उपस्थिति थप बलियो बनाउनुभएको छ ।
व्यवसायमा तीन दशकदेखि सक्रिय श्रेष्ठ गायन र मोडलिङमा पनि आबद्ध हुनुहुन्छ । व्यावसायिक जीवनसँगै कला र मोडलिङलाई अघि बढाउँदै आरउनुभएकी उहाँले पछिल्लो उपलब्धिमार्फत आफ्नो बहुआयामिक परिचय स्थापित गर्नुभएको छ । उहाँका तीन उपाधि व्यक्तिगत सफलतामा मात्र सीमित छैनन् । नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसरसमेत बनेका छन् ।
उहाँले आगामी दिनमा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गर्नुभयो । दृढ इच्छाशक्ति र आत्मविश्वास भए असम्भव मानिएका काम पनि सम्भव बनाउन सकिने उहाँको भनाइ छ ।