ललितपुर । धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, स्वच्छ वातावरण निर्माण र हरियाली प्रवर्धन गर्ने उद्देश्यले नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ ले बज्रबाराही मन्दिर परिसरमा सरसफाइ तथा फूल रोपण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । सहभागीहरूले मन्दिर परिसरको सरसफाइ गर्नुका साथै विभिन्न प्रजातिका फूल रोपेर वातावरणलाई स्वच्छ, सुन्दर र हरियालीयुक्त बनाउने प्रयास गरेका थिए ।
धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको सन्देश प्रवाह गर्दै आयोजित कार्यक्रममा सम्पदाको सौन्दर्य कायम राख्न र वातावरणीय स्वच्छता प्रवर्धन गर्न यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो ।
नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ ले धार्मिक सम्पदाको संरक्षण र वातावरणीय सुधारका लागि गरिएको यो प्रयासलाई सामाजिक उत्तरदायित्वअन्तर्गतको सानो योगदानका रूपमा लिएको जनाएको छ ।