मानव आवाज

२०८३ कात्तिक १९ गते
00: 00: 00
२०८३ कात्तिक १९ गते

फूल्चोकी माध्यमिक विद्यालयको सामाजिक परीक्षण सम्पन्न

ललितपुर । गोदावरी नगरपालिका-१४, ठैवस्थित श्री फूल्चोकी माध्यमिक विद्यालयको आर्थिक वर्ष २०८२/८३ को विद्यालय सामाजिक परीक्षण सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८ बमोजिम विद्यालयको शैक्षिक, आर्थिक, भौतिक तथा व्यवस्थापकीय पक्षको समीक्षा गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि, पारदर्शिता, जबाफदेहिता र सुशासन कायम गर्ने उद्देश्यले सामाजिक परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक गोपालकुमार पाण्डेले बताउनुभयो ।

परीक्षणका क्रममा विद्यालयको शैक्षिक उपलब्धि, विद्यार्थीको सिकाइ अवस्था, शिक्षक तथा कर्मचारी व्यवस्थापन, आयव्यय, भौतिक पूर्वाधार, शैक्षिक गतिविधि तथा सरोकारवालासँगको सम्बन्धलगायतका विषय समेटिएको थियो ।

कार्यक्रममा गोदावरी नगरपालिका शिक्षा शाखाकी वरिष्ठ विद्यालय निरीक्षक सुनीता महर्जनले सामाजिक परीक्षणले विद्यालयका सबल पक्ष पहिचान गर्नुका साथै सुधार गर्नुपर्ने क्षेत्रसमेत उजागर गर्ने बताउनुभयो ।

यसबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै विद्यार्थीको विद्यालय छाड्ने दर न्यूनीकरण र सिकाइ उपलब्धि वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।

नगरपालिकाभित्रका विद्यालयमध्ये फूल्चोकी माध्यमिक विद्यालयले विस्तृत प्रतिवेदन सार्वजनिक गर्नु र स्वमूल्याङ्कनमा उत्कृष्ट अङ्क प्राप्त गर्नुले नमुना विद्यालयका रूपमा आफ्नो पहिचान स्थापित गरेको पनि महर्जनले बताउनुभयो ।

गोदावरी नगरपालिका-१४ का वडाध्यक्ष निरोज बज्राचार्यले विद्यालयको प्रगति, उपलब्धि, चुनौती तथा सुधारका सम्भावित उपायबारे चर्चा गर्दै विद्यालयको विकासका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय समुदाय तथा अन्य सरोकारवालाबीच सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

सहभागीहरूले सामाजिक परीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी विद्यालयको गुणस्तर सुधार, सार्वजनिक जवाफदेहिता र शैक्षिक सुशासनको महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष ध्रुवप्रसाद पोखरेलले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सामाजिक परीक्षण प्रतिवेदनले विद्यालयको आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने बताउनुभयो ।

विद्यालयका लेखा प्रमुख दुर्गादास श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को आयव्यय विवरण सार्वजनिक गर्दै विद्यालयले आर्थिक पारदर्शिता र जवाफदेहितालाई प्रमुख आधार बनाएको बताउनुभयो ।

विद्यालय सामाजिक परीक्षणसम्बन्धी कानुनी व्यवस्थाअनुसार प्रत्येक विद्यालयले नयाँ आर्थिक वर्षको पहिलो चौमासिकभित्र सामाजिक परीक्षण सम्पन्न गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार