ललितपुर । बागमती गाउँपालिका-४, प्युटारमा आयोजित चौथो संस्करणको फुटबल प्रतियोगिताको उपाधि खैरेनी ‘ए’ फुटबल टिमले जितेको छ ।
२०८३ कात्तिक १७ देखि १९ गतेसम्म खयरघारी खेलमैदानमा सञ्चालित प्रतियोगितामा देउराली फुटबल टिम दोस्रो र खयरघारी फुटबल टिम तेस्रो भएका छन् ।
वडा नं. ४ को आयोजनामा सम्पन्न प्रतियोगितामा साविक प्युटारका विभिन्न टोलबाट ६ टोली सहभागी भएका थिए ।
नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगिताका खेलहरू अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को नियमानुसार खेलाइएको वडा अध्यक्ष रामकुमार लामाले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत विधातर्फ पुरस्कृत गरिएको थियो । जसअनुसार उत्कृष्ट डिफेन्डर देउराली फुटबल टिमका अशोक थिङ, उत्कृष्ट गोलरक्षक खैरेनी ‘ए’ का आशिष भोम्जन र उत्कृष्ट गोलकर्ता खैरेनी ‘ए’ कै कञ्चन घले घोषित हुनुभयो ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
वडा अध्यक्ष रामकुमार लामाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा आश्राङ प्रहरी चौकी तथा थाङसिङटार अस्पतालका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन राकेश तामाङले गर्नुभएको थियो ।
स्थानीयस्तरमा फुटबल खेलको विकास, नयाँ खेल प्रतिभाको पहिचान तथा युवालाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
यस्ता प्रतियोगिताले युवामा अनुशासन, सहकार्य, आपसी एकता र खेलभावनाको विकास गर्नुका साथै भविष्यका सक्षम फुटबल खेलाडी उत्पादनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।