मानव आवाज

२०८३ कात्तिक १९ गते
00: 00: 00
२०८३ कात्तिक १९ गते

मुलुकमा सशस्त्र द्वन्द्व चर्किएको समय थियो । गाउँहरूमा साँझ पर्न नपाउँदै ढोका बन्द हुन्थे । राति कुकुर भुकेको आवाजले पनि मानिसहरू तर्सिन्थे । कुन घरमा को पस्यो, कसलाई कसले के भन्यो, कसको नाम कुन सूचीमा चढ्यो–कसैलाई थाहा हुँदैनथ्यो । गाउँका बाटाहरू सुनसान हुन्थे र मान्छेका मनहरू त्यसभन्दा पनि सुनसान । त्यही गाउँमा राकेश बस्थ्यो । राकेश अरूभन्दा अलि फरक थियो । गाउँ समाजमा उसको स्वभाव केही विद्रोही थियो । पुराना चलन, अन्धविश्वास र मानिस–मानिसबिच गरिने भेदभाव उसलाई पटक्कै मन पर्दैनथ्यो । ऊ भन्थ्यो–‘मान्छे जन्मँदा कोही ठूलो भएर जन्मिँदैन । कसैको निधारमा मालिक र कसैको निधारमा नोकर लेखिएको हुँदैन ।’ गाउँमा जातका आधारमा पानीको धारो छुट्याइएको देख्दा उसलाई रिस उठ्थ्यो । गरिबको छोराले धनीको छोराभन्दा तल बसेर खानुपर्ने चलन उसलाई स्वीकार्य थिएन । महिलाले पुरुषको अगाडि बोल्न नहुने कुरा सुन्दा ऊ झर्किन्थ्यो । ‘घरमा आमाको श्रमले चुलो बल्छ भने निर्णय गर्ने अधिकार पनि आमाकै हुनुपर्छ ।’–ऊ भन्थ्यो । उसले मार्क्स पढेको थिएन । उसलाई माओ थाहा थिएन । कुनै राजनीतिक दर्शनको गहिरो अध्ययन गरेको थिएन । क्रान्तिका पुस्तकहरू उसको घरमा थिएनन् । तर व्यवहारमा ऊ समानताको पक्षमा उभिन्थ्यो । ऊ यथास्थितिको कटु आलोचक थियो ।

गाउँमा भने रुद्रनाथ नामका एक जना प्रभावशाली मानिस थिए । रुद्रनाथ पुराना मान्यता र आफ्नो सामाजिक हैसियतमा गर्व गर्थे । गाउँमा कसले के बोल्ने, कसले कसलाई सम्मान गर्ने, कसले कसको अगाडि बस्ने–यी सबैको अदृश्य नियम उनकै वरिपरि घुम्थे । राकेशका कुरा उनलाई मन पर्दैनथे । ‘धेरै जान्ने भएको छ ।’–उनी गाउँलेसँग भन्थे–‘यस्ताले गाउँ बिगार्छन् ।’ राकेशलाई भने रुद्रनाथको डर थिएन । त्यसैले उनीहरूबिचको दूरी दिनदिनै बढ्दै गयो । एक दिन गाउँमा संयुक्त सुरक्षा फौजको गस्ती आयो । सैनिक र प्रहरीसहितको टोली गाउँ पसेपछि गाउँमा त्रास फैलियो । मानिसहरू आ–आफ्ना घरभित्र पसे । केही परबाट तमासा हेर्न थाले । रुद्रनाथले मौका यही हो भन्ने ठाने । उनले सुरक्षाकर्मीका एक अधिकारीलाई एकान्तमा बोलाए । ‘साहेब’–उनले बिस्तारै भने–‘गाउँमा एउटा माओवादी छ । निकै खतरनाक छ । नाम राकेश ।’ ‘पक्का हो ?’ ‘पक्का । धेरै दिनदेखि गतिविधि गरिरहेको छ । गाउँका मान्छेलाई भड्काउँछ । सरकारविरुद्ध बोल्छ । मौका पाए ठूलो समस्या बनाउँछ ।’ रुद्रनाथले यति विश्वासका साथ भने कि शङ्का गर्ने ठाउँ नै रहेन । राकेशलाई माओवादी भनियो । तर, राकेश माओवादी थिएन । उसले बन्दुक समातेको थिएन । पार्टीको सदस्यता लिएको थिएन । कुनै भूमिगत बैठकमा गएको थिएन । उसको अपराध केवल यति थियो–ऊ यथास्थितिबाट सन्तुष्ट थिएन । उसको जुइनो कतै जोडिएको थिएन । उ असङ्गठित विद्रोही भने थियो ।

त्यही दिन साँझ सुरक्षाकर्मीहरू राकेशको घर पुगे । ‘तपाईंको नाम राकेश हो ?’ राकेश बाहिर निस्कियो । ‘हो ।’ ‘तपाईँसँग केही सोधपुछ गर्नुछ ।’ उसले श्रीमतीतिर हेर्‍यो । श्रीमतीको आँखामा डर थियो । ‘म कहाँ जाऊँ ?’–राकेशले सोध्यो । जबाफ आएन । केही बेरपछि उसलाई कालो कपडाले टाउको बाँधियो । उसको छोरो प्रकाश त्यतिबेला घरमा थिएन । फर्केर आउँदा घरको आँगनमा आमाको रोदन मात्र थियो । आमा अवाक थिइन् । उनको गला सुकिसकेको थियो । ‘किन रुनुभएको ? बुबा खै ?’–उसले सोध्यो । साउतीको स्वरमा आमाले भनिन्–‘छिर्केबिर्के लुगा लगाएर आएका सेनाहरुले लगे । कहाँ लगे ? किन लगे ? केही थाहा छैन ।’ अड्किइअड्किइ आमाले यति भनिन् थप बोल्न सकिनन् । त्यो रात घरमा कसैले खाना खाएन । भोलिपल्ट प्रकाश सेनाको ब्यारेक पुग्यो । ‘मेरो बाबालाई हिजो ल्याइएको थियो ।  उहाँ कहाँ हुनुहुन्छ ?’ ‘यहाँ छैन ।’ ‘तर हिजो सेनाले नै लगेको हो ।’ ‘हामीलाई केही थाहा छैन ।’ प्रकाश प्रहरी कार्यालय पुग्यो । ‘मेरो बाबाको खोजी गरिदिनुस् ।’ ‘नाम ?’ ‘राकेश ।’ प्रहरीले कागज पल्टायो । ‘यहाँ छैन ।’ ‘अनि कहाँ लगिएको छ त ?’ ‘हामीलाई थाहा छैन ।’

त्यसपछि प्रकाशको दौडधुप सुरु भयो । ब्यारेक, प्रहरी कार्यालय, जिल्ला प्रशासन, जिल्लाका अन्य कार्यालय–जहाँ सम्भव थियो, ऊ पुग्यो । प्रत्येक ठाउँमा एउटै उत्तर । ‘यहाँ छैन ।’ तर, एउटा छोराको मनले मानिरहेको थिएन । ‘बाबा कहाँ हुनुहुन्छ ?’ यो प्रश्न उसको निद्रामा पनि आउँथ्यो । आमा हरेक साँझ ढोकातिर हेर्थिन् । बाबु आउने बाटोमा आँखा अड्याएर बसिरहन्थिन् । घरमा बाबुको चप्पल त्यही थियो । उनको पुरानो टोपी खाटको छेउमा थियो । भान्साको कुनामा उनले प्रयोग गर्ने गिलास थियो । तर, मान्छे थिएन । हुरी चल्दा, बतासले झ्यालढोका हल्लाउँदा वा रातको निस्तब्धतामा कतै ढोका ढक्ढकिएको आवाज आउँदा आमा झसङ्ग हुन्थिन् । ‘बुढा आए कि ?’ भन्दै कान थापेर बसिरहन्थिन् । कहिलेकाहीँ त रातभर ढोकातिर आँखा लगाएर बस्दा बिहान भइसक्थ्यो, तर आँगनमा टेकिएका पाइला सुनिँदैनथे । कति दिन भोकै बिते, कति रात निद्राविहीन भएर छटपटाउँदै काटिन्, त्यसको हिसाब उनीसँग पनि थिएन । चुलोमा आगो नबलेका दिनभन्दा बढी त उनको मनमा आशा निभ्न नदिएका दिन थिए । हरेक साँझ उनलाई लाग्थ्यो–आज त पक्कै आउलान्, हरेक रात लाग्थ्यो–सायद यही ढोकामा बुढाको हातले ढकढक्याउनेछ । तर, बिहान हुन्थ्यो, घाम लाग्थ्यो, गाउँ जाग्थ्यो । यि सबै क्रियाकलापसँगै उनको प्रतीक्षा पनि जागै रहन्थ्यो ।

समय बित्दै गयो । एक दिन प्रहरी कार्यालयबाट निराश भएर फर्कँदै गर्दा प्रकाश ठूलोवनको बाटोमा थकाइले रोकियो । धेरै दिनदेखि नखाई, नसुती, धाउँदै आएको शरीर थाकिसकेको थियो । ऊ एउटा रूखको फेदमा बस्यो । त्यत्तिकैमा पर झाडीमा केही सेतो देखियो । सुरुमा उसले वास्ता गरेन । फेरि उसको नजर त्यहीँ गयो । ऊ उठ्यो । दौडेर झाडीमा पुग्यो । त्यो एउटा कपडा थियो । उसले कपडा उठायो । छाम्यो । चिन्यो । त्यो उसको बाबुले लगाएको कपडा थियो । त्योसँगै बाबालाई पक्रँदा प्रयोग भएको कालो नकाव पनि थियो । ‘बाबा…!’ उसको घाँटीबाट आवाज निस्कियो । ऊ त्यहीँ जमिनमा बस्यो । कपडा छातीमा च्याप्यो । आँखा रसाए । तर, त्यो दिन प्रकाशको आँसु मात्र झरेन । उसको मनभित्र केही अर्को कुरा जन्मियो–क्रोध र प्रतिशोध । उसले कपडा बोकेर फेरि प्रहरी कार्यालय पुग्यो । ‘यो मेरो बाबुको कपडा हो । उहाँलाई कहाँ पु¥याउनुभयो ?’ प्रहरीले कपडातिर हेरे । ‘हामीलाई केही थाहा छैन ।’ ‘झुट !’ प्रकाश चिच्यायो । ‘मेरो बाबुलाई घरबाट सोधपुछ गर्नुछ भनी उठाएर लगिएको हो । उहाँ हराउनुभएको होइन । तपाईंहरूलाई थाहा छ ।’ प्रहरीले उसलाई धम्क्यायो । ‘धेरै बोलिस् भने तँलाई पनि भित्र कोचिदिन्छौँ ।’

त्यो वाक्यले प्रकाशको जीवन नै बदलिदियो । त्यो रात उसले आमाको अगाडि बसेर भन्यो–‘आमा, म बाबुलाई खोजेर ल्याउँछु ।’ आमाले डराउँदै सोधिन्–‘कहाँ जान्छस् ?’ ‘समयले जता लान्छ उतै ।’ प्रकाशले थप बोलेन । उसले बाबुको कपडा हातमा लियो । त्यसपछि ऊ घरबाट निस्कियो । केही समयपछि प्रकाश भूमिगत भयो । ऊ माओवादी आन्दोलनमा जोडियो । तर, उसको उद्देश्य अरूको जस्तो थिएन । उसको मनमा तीन ओटा कुरा मात्र थिए–बाबुलाई खोज्ने । बाबुको अन्यायको हिसाब खोज्ने र समाज बदल्ने । बाबुले जीवनभर भनेका कुरा उसको कानमा गुञ्जिरहन्थे । ‘मान्छे बराबर हुनुपर्छ ।’ ‘अन्याय सहनु हुँदैन ।’ ‘डराएर बाँच्नु पनि बाँच्नु हो र ?’ प्रकाशका लागि अब ती बाबुका कुरा थिएनन् । ती उसको बाटो बने । 

यता घरको पीडा झन् गहिरिँदै गयो । न बाबु । न छोरा । आमा दिनभर ढोकामा आँखा लगाएर बस्ने । कहिलेकाहीँ गाउँलेहरू आउँथे । ‘प्रकाश पनि माओवादी भएछ ।’–कसैले सहानुभूति देखाउँथ्यो । कसैले डराउँथ्यो । कसैले कुरा काट्थ्यो । रुद्रनाथ भने चुप थिए  । तर, गाउँमा उनको प्रभाव भने विस्तारै घट्दै गयो । राकेश हराएको वर्षौँ भइसकेको थियो । प्रकाश पनि वर्षौँदेखि घर फर्किएको थिएन । आमाका कपाल फुलिसकेका थिए । तर, उनको प्रतीक्षा सकिएको थिएन । उनी हरेक चाडपर्वमा दुईवटा थाल निकाल्थिन् । कसैले सोध्यो भने भन्थिन्–‘मान्छे घर नआए पनि उसको भागको भात त राख्नुपर्छ ।’

उता, राकेशको कथा अर्कै मोडमा पुगेको थियो । सुरक्षाकर्मीले उनलाई लामो समय नियन्त्रणमा राखे । तर, एक रातको अव्यवस्थाको मौका छोपेर उनी त्यहाँबाट उम्किए । उनी जङ्गल पुगे । त्यहाँ आन्दोलनमा लागेका मानिसहरूसँग उनको सम्पर्क भयो । राकेशले आफ्नो कथा सुनाए । उसले भन्यो–‘म माओवादी भएर पक्राउ परेको होइन । म बराबरीको कुरा गरेँ, त्यसैले माओवादी बनाइएँ ।’ त्यसपछि उसले आन्दोलनलाई नजिकबाट बुझ्न थाल्यो । उसले किताब पढ्न थाल्यो । राजनीतिक सिद्धान्त बुझ्न थाल्यो । आफ्ना पुराना धारणालाई प्रश्न गर्न थाल्यो । र, विस्तारै ऊ आन्दोलनभित्र एउटा जिम्मेवार नेताका रूपमा स्थापित हुँदै गयो । उ एकल प्रयासबाट होइन सामूहिक प्रयासबाट अघि बढ्दा छिटो प्रतिफल पाइनेमा विश्वस्त बन्यो । उसले बारबार पत्नीलाई सम्झन्थ्यो । तर, उ घर जान सक्दैनथ्यो । उसले कहिलेकाहीँ छोरालाई सम्झन्थ्यो । ‘प्रकाश कहाँ होला ?’ उसलाई थाहा थिएन । उसको खोजीमा हिँडेको त्यही छोरा अब स्वयम् आन्दोलनको एउटा सिपाही बनिसकेको छ ।

राकेशलाई कालो कपडाले टाउको बाँधेर लगिएको रातपछि उसका लागि दिन र रातको भेद हराएको थियो । कहिले ब्यारेकका अँध्यारा कोठा, कहिले आँखामा पट्टी बाँधेर गरिने सोधपुछ, कहिले कुटपिट र धम्की–उसले सबै सहनुप¥यो । ‘माओवादी कोसँग भेट्छस् ?, तेरो नेता को हो ? कहाँ बस्छ ?’ भन्ने प्रश्न बारम्बार दोहोरिन्थ्यो । ऊसँग उत्तर थिएन, किनकि ऊ वास्तवमै माओवादी थिएन । महिनौँपछि एक रात उसलाई अर्को ठाउँ सार्ने क्रममा सुरक्षाकर्मीको निगरानी कमजोर भयो । त्यही अवसरमा ऊ भाग्न सफल भयो । जङ्गलमा पुगेपछि उसले पहिलो पटक बन्दुकभन्दा ठूलो कुरा अन्यायविरुद्धको साझा आक्रोश रहेछ भन्ने बुझ्यो । विस्तारै उसले आन्दोलनका कार्यकर्तासँग काम गर्न थाल्यो । गाउँ–गाउँ पुगेर मानिसका पीडा सुन्न थाल्यो र अन्ततः आफ्नै अनुभवले उसलाई आन्दोलनभित्र जिम्मेवार नेताको स्थानसम्म पुर्‍यायो ।

समय फेरि बदलियो । द्वन्द्व अन्त्यतिर पुग्यो । हजारौँ मानिसको बलिदान, आँसु र पीडापछि मुलुकमा शान्तिको वातावरण बन्न थाल्यो । शान्ति प्रक्रियाका लागि राजनीतिक दलहरू सहकार्यमा थिए । शान्ति सम्झौता भयो । शान्ति सम्झौतापछि एक दिन एउटा ठूलो राजनीतिक कार्यक्रममा आन्दोलनका नेताहरूको भीड थियो । प्रकाश पनि त्यहाँ थियो । अचानक उसको आँखा अगाडिको मञ्चतिर गयो । मञ्चमा एक जना पाका नेता उभिएका थिए । अनुहारमा उमेरका रेखा थिए । कपाल फुलेको थियो । तर आँखाहरू…। ती आँखाहरू उसले चिनेको थियो । प्रकाशको शरीर काँप्यो । उसले बिस्तारै फुसफुसायो–‘बाबा…?’ त्यो आवाज राकेशको कानसम्म पुग्यो । राकेशले भीडतिर हेरे । उसको नजर प्रकाशमा पुगेर अडियो । केही क्षण दुवै एकअर्कालाई हेरेर उभिए । वर्षौँको दूरी अचानक केही पाइला मात्र रह्यो । राकेश मञ्चबाट ओर्लिए । प्रकाश दौडियो । बाबु–छोरा एकअर्कालाई अँगालो हाले । कसैले केही बोलेन । दुवैको आँखाबाट आँसु बगिरहे ।

राकेशले छोराको निधारमा बाँधिएको रातो फेटातिर हेर्‍यो । उसको मनमा एकाएक वर्षौँअघिको त्यो कालो कपडाको दृश्य झल्झली आयो । कालो कपडाले उसलाई अँध्यारोतिर लगेको थियो । रातो फेटाले छोरालाई विद्रोहतिर । इतिहासले बाबु र छोरालाई फरक बाटो हिँडाएको थियो । तर, दुवैको गन्तव्य अन्ततः एउटै बनेको थियो–समानता । राकेशले छोराको टाउको समातेर भन्यो–‘तँ कहाँ थिइस्, बाबु ?’ प्रकाशले बाबुको छातीमा टाउको राख्दै भन्यो–‘तपाईंलाई खोज्दै हिँडेको थिएँ ।’ राकेशले सोध्यो–‘कसले भन्यो तँलाई म यता छु ?’ प्रकाश हाँस्दै रोयो । ‘तपाईंले नै सिकाउनुभएको थियो नि–अन्यायको अगाडि चुप लाग्नु हुँदैन ।’ राकेश केही बोल्न सकेन । उसले छोरालाई अझ कस्सेर अँगालो हाल्यो । त्यस साँझ वर्षौँपछि उनीहरू घर फर्किए । आमा आँगनमै थिइन् । पहिला उनले राकेशलाई देखिन् । उनी केही क्षण टोलाइन् । त्यसपछि प्रकाशलाई देखिन् । उनको हातबाट पानीको गिलास खस्यो । ‘बुढा…?’ उनको आवाज काँप्यो । राकेश अगाडि बढ्यो । प्रकाश पनि अगाडि स¥यो । ‘म आएँ ।’ आमा केही बोलिनन् । उनी दौडेर राकेशको छातीमा टाँसिइन् । अर्को हातले प्रकाशलाई तानिन् । वर्षौँदेखि छुट्टिएका तीन शरीर एउटै अँगालोमा बाँधिए । त्यो घरमा त्यो दिन कुनै ठूलो भोज थिएन । न बाजा बजेको थियो । न फूलको माला थियो । तर, त्यो घरले वर्षौँपछि सबैभन्दा ठूलो उत्सव मनाइरहेको थियो । 

बाहिर साँझ परिसकेको थियो । गाउँ उस्तै थियो, तर धेरै कुरा बदलिइसकेका थिए । रुद्रनाथ बूढा भइसकेका थिए । उनको पुरानो प्रभाव हराइसकेको थियो । रुन्द्रनाथ राकेशसँग व्यक्तिगत रूपमा घृणा गर्दैनथे । उनी डराउँथे । पुस्तौँदेखि आफूले भोग्दै आएको सामाजिक प्रतिष्ठा, मानिसहरूले गर्ने सम्मान र गाउँमा रहेको प्रभाव कुनै दिन हराउने हो कि भन्ने त्रासले उनलाई सताइरहन्थ्यो । राकेशका कुरा सुन्दा उनलाई आफ्ना पुराना विश्वासहरू चर्किंदै गएको महसुस हुन्थ्यो । त्यसैले उनले राकेशलाई शत्रु ठाने । तर, वर्षौँपछि गाउँमा आफ्नो प्रभाव घट्दै जाँदा र राकेश हराएको घटनाको चर्चा बारम्बार उठ्दा उनको मन पनि शान्त रहन सकेन । एक साँझ एक्लै आँगनमा बस्दा उनले पहिलो पटक स्वीकार गरे–राकेशले गाउँ बिगार्न खोजेको थिएन, आफूले जोगाउन खोजेको व्यवस्था नै अन्यायपूर्ण थियो । त्यो स्वीकारोक्तिले उनको अपराधबोध कम गरेन, बरु झन् गहिरो बनायो ।

राकेश र प्रकाश घर फर्किएको दिन खुसीको दिन मात्रै थिएन, पीडाको हिसाब खुल्ने दिन पनि थियो । आमाले दुवैलाई अँगालो हाल्दा वर्षौँदेखि थामेर राखेका आँसु बगे । राकेश भने लामो समयसम्म बोल्न सकेनन् । घरको प्रत्येक कुनाले उसलाई हराएका वर्षहरूको सम्झना गराइरहेको थियो । श्रीमतीले चुपचाप उसको अगाडि पानीको गिलास राखिन् । दुवैका आँखा जुधे, तर शब्द भेटिएनन् । बाहिर गाउँलेहरू भेला भएका थिए । कसैले स्वागत गरे, कसैले अपराधबोध लुकाए, कसैले विगत सम्झेर टाउको निहुराए । त्यो पुनर्मिलन खुसीको अन्त्य मात्र थिएन । त्यो विछोड, हिंसा र प्रतीक्षाले छोडेका घाउहरूलाई फेरि एकपटक छाम्ने क्षण पनि थियो ।

मुलुकमा भर्खरै शान्ति सम्झौता भएको थियो । गाउँमा पहिलाजस्तो त्रास थिएन । साँझपख सुनिने कुकुरका भुकाइहरू पनि अब डरका आवाज होइन, कुनै मीठो सङ्गीतझैँ लाग्थे । हिजोसम्म मृत्यु र भय बोकेर हिँडेका गाउँका बाटाहरू अब टाढाटाढा शान्तिका गन्तव्यतिर पुर्‍याउने मार्ग बनेका थिए । र, त्यही बाटो हुँदै राकेश र प्रकाश वर्षौँपछि घर फकिएका थिए । राकेशले आँगनतिर हेरे । त्यही आँगनमा उसले पहिल्यै समानताको कुरा गरेको थियो । आज उसको छोराले त्यही सपना बोकेर फर्किएको छ । उसले प्रकाशको काँधमा हात राख्यो । ‘समाज बदल्न हिँडेको मान्छेले सबैभन्दा पहिले घर फर्कन सिक्नुपर्छ रहेछ ।’–उसले भन्यो । प्रकाश मुस्कुरायो बाबुले छोरातिर हेरे । दुवै मुस्कुराए ।

त्यस रात धेरै वर्षपछि त्यो घरमा चुलो बल्यो । घरमा हाँसो सुनियो । आमाले भान्सामा गएर दुई ओटा होइन, तीन ओटा थाल निकालिन् । प्रकाशले मुस्कुराउँदै भन्यो–‘आमा, आज त तीन जनाको भाग राख्नुस् ।’ आमाले आँसु पुछ्दै भनिन्–‘आजदेखि कसैको भाग छुट्दैन ।’ राकेशकी श्रीमतीले आँसु पुछ्दै खाना पस्किइन् । कुनै समय राज्यले एउटा बाबुलाई कालो कपडाले टाउको बाँधेर लगेको थियो । त्यही कालो कपडाको एउटा टुक्राले छोरालाई वर्षौँसम्म खोजीमा हिँडाएको थियो । त्यही खोजीले एउटा परिवारलाई टुक्राएको थियो । र, अन्ततः त्यही यात्राले बाबु र छोरालाई एउटै घरको आँगनमा ल्याएर उभ्याएको थियो । बाहिर मुलुकले नयाँ बिहानको प्रतीक्षा गरिरहेको थियो । भित्र एउटा परिवारले भने आफ्नो बिहान भेटिसकेको थियो । आमाले एकटक दुवैलाई हेरिरहिन् । उनका लागि कालो र रातो दुवै रङले एउटै कथा बोकेका थिए–विछोड, प्रतीक्षा, आँसु र अन्ततः फर्केर आएको जीवनको कथा । उनले मनमनै सोचिन्–‘के शान्ति सम्झौताले सबैका घरमा यस्तै खुशी ल्यायो होला ? के अब मुलुकमा मेरो जस्तै नियति अरुले भोग्नु नपर्ला ?’ (फोटोः एआइ जेनेरेटेड)

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार