मानव आवाज

२०८३ कात्तिक १७ गते
00: 00: 00
२०८३ कात्तिक १७ गते

प्युटारमा फुटबल प्रतियोगिता सुरु, विजेतालाई ३० हजार रुपियाँ

ललितपुर । स्थानीयस्तरमा फुटबल खेलको विकास, नयाँ खेल प्रतिभाको पहिचान र युवालाई खेलकुद गतिविधिमा प्रोत्साहित गर्ने उद्देश्यले दक्षिण ललितपुरको बागमती गाउँपालिका-४, प्युटारमा चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिता-२०८३ सुरु भएको छ ।

बागमती गाउँपालिका वडा नं. ४ को आयोजना तथा वडा कार्यालयको प्रायोजनमा २०८३ कात्तिक १७ गतेदेखि खयरघारी खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा साविक प्युटारका विभिन्न टोलका ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको उद्घाटन बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोपचनले गर्नुभयो । वडा अध्यक्ष रामकुमार लामाको सभाध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वडा नं. १ का अध्यक्ष ज्ञानबहादुर लो, गाउँपालिका सदस्य रमेश घले, इलाका प्रहरी कार्यालय आश्राङका इन्चार्ज तथा थाङसिङटार अस्पतालका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राकेश तामाङले गर्नुभएको थियो ।

प्रतियोगितामा पहिलो हुने टोलीले ३० हजार रुपियाँ, दोस्रो हुने टोलीले १५ हजार रुपियाँ र तेस्रो हुने टोलीले ७ हजार ५ सय रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका खेल फिफाको नियमानुसार खेलाइने आयोजकले जानकारी दिएको छ ।

प्युटारमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने, स्थानीय युवाको प्रतिभा उजागर गर्ने तथा भविष्यका फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।

यस्ता प्रतियोगिताले युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै उनीहरूमा अनुशासन, आपसी एकता र सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार