मानव आवाज

२०८३ कात्तिक १८ गते
00: 00: 00
२०८३ कात्तिक १८ गते

दुधौलीमा नागरिक सुनुवाइ : लागूऔषध दुर्व्यसन नियन्त्रणदेखि प्रहरी चौकी स्थापनासम्मका माग

सिन्धुली । दुधौली नगरपालिकामा सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा र सुशासनका विषयमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लागूऔषध दुर्व्यसनको बढ्दो समस्या, प्रहरी चौकी स्थापनाको माग तथा मदन भण्डारी राजमार्गमा हुने सडक दुर्घटना न्यूनीकरणका विषय प्रमुखताका साथ उठाइएको छ ।

‘सहभागिता, उत्तरदायित्व, जबाफदेहिता र पारदर्शिता-सुशासन’ भन्ने नारासहित ‘नागरिकका सवाल, सरोकारवालाको जबाफ’ भन्ने मूल नाराका साथ २०८३ कात्तिक १६ गते कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय डकाहाको संयुक्त आयोजनामा दुधौली नगरपालिका-९ स्थित नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख किशोरचन्द्र थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि, पत्रकार, शिक्षक, बुद्धिजीवी र स्थानीय नागरिक गरी करिब ९० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यवाहक नगरप्रमुख थारूले दुधौली नगरपालिकामा लागूऔषध दुर्व्यसनको समस्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

लागूऔषध दुर्व्यसनले सामाजिक सुरक्षा र युवापुस्ताको भविष्यमा चुनौती थपेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीय सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, दुधौली नगरपालिका-११ मा प्रहरी चौकी स्थापना गर्नुपर्ने माग वडाध्यक्ष पवन कार्कीले उठाउनुभयो । नगरपालिकाका १४ वडामध्ये क्षेत्रफल र जनसङ्ख्याका हिसाबले ठूलो वडा रहेको तथा विभिन्न पालिका र प्रदेशसँग सिमाना जोडिएको भौगोलिक अवस्थाका कारण शान्ति सुरक्षामा चुनौती रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले मदन भण्डारी राजमार्गमा बढ्दै गएका सडक दुर्घटना दुधौलीवासीका लागि मात्रै नभई आम नागरिकको चासो र सरोकारको विषय बनेको बताउनुभयो ।

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन, सवारीसाधनको गति नियन्त्रण, नियमित निगरानी तथा सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

त्यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु खनालले सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

नागरिकका गुनासा तथा समस्याको सुनुवाइ गर्दै सरकारी निकायलाई थप जवाफदेही बनाउने, सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या पहिचान गर्ने र तिनको समाधानका उपाय खोज्ने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार