मानव आवाज

२०८३ कात्तिक १७ गते
00: 00: 00
२०८३ कात्तिक १७ गते

उपभोक्ता अधिकार संरक्षण र बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाबिच समन्वय

पोखरा । उपभोक्ता अधिकार संरक्षण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा सरोकारवालाबिच समन्वय बैठक तथा छलफल सम्पन्न भएको छ ।

२०८३ कात्तिक १६ गते आयोजित बैठकमा बजार अनुगमनलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा उहाँले व्यवसायीको हित संरक्षण, व्यवसाय प्रवर्धन, उपभोक्ताको अधिकार सुनिश्चितता तथा शान्ति सुरक्षा कायम गर्न प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।

बैठकमा उपभोक्ता अधिकार संरक्षण, बजारमा हुने मूल्यवृद्धि, वस्तु तथा सेवाको गुणस्तर, कृत्रिम अभाव, कालोबजारी तथा उपभोक्तामाथि हुन सक्ने ठगी नियन्त्रणलगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, सूचना अधिकारी तथा जिल्ला अनुगमन निरीक्षक रमेश घर्तीले सहजीकरण गर्नुभएको थियो ।

छलफलमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, उपभोक्ता हित मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल, पोखरा उद्योग वाणिज्य सङ्घकी अध्यक्ष शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारी, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बराल, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख सागर शेरचन तथा पोखरा महानगरपालिकाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

बैठकमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबिच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।

साथै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन र बजारमा देखिन सक्ने विकृति तथा अनियमितता नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरिएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार