पोखरा । बडादशैँ तथा तिहारको अवसरमा डेभिजफल क्लब, पोखरा-१७, छोरेपाटनद्वारा आयोजित ‘विजयादशमी तथा दीपावली रमाइलो टोलकप फुटबल प्रतियोगिता-२०८३’ सम्पन्न भएको छ ।
प्रतियोगिताको ३५ वर्षमुनिको विधामा बेलघारी टोल र ३५ वर्षमाथिको भेट्रान्स विधामा डेभिजफल टोल च्याम्पियन बनेका छन् ।
२०८३ कात्तिक १४ गते पोखरा महानगरपालिका-१७ स्थित तिब्बतियन क्याम्पको फुटबल मैदानमा सम्पन्न प्रतियोगिताको ३५ वर्षमुनिको विधामा सात टोलीबिच प्रतिस्पर्धा भएको थियो । जसमा बेलघारी टोल पहिलो र शीतलपथ टोल दोस्रो भए ।
त्यसैगरी, ३५ वर्षमाथिको भेट्रान्स विधामा तीन टोलीबिच प्रतिस्पर्धा भएकोमा डेभिजफल टोल पहिलो र शीतलचौतारी टोल दोस्रो भए ।
प्रतियोगिताका दुवै विधाका विजेता टोलीलाई आयोजकले बोका, ट्रफी तथा मेडल प्रदान गरेको थियो भने उपविजेता टोलीलाई कुखुरा, ट्रफी तथा मेडल प्रदान गरिएको थियो ।

पूर्वअध्यक्ष श्रेष्ठ सम्मानित
यसै अवसरमा क्लबका पूर्वअध्यक्ष राजेश श्रेष्ठलाई सम्मान गरिएको छ । क्लबको नेतृत्वमा रहँदा संस्थागत विकास, नेतृत्वदायी भूमिका तथा विभिन्न गतिविधिमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
क्लबलाई आवश्यक पर्दा विभिन्न समयमा आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएका श्रेष्ठको योगदानको उचित कदर गर्ने उद्देश्यले सम्मान गरिएको हो ।
यसअघि समय र परिस्थितिका कारण सम्मान गर्न नसकिए पनि अनुकूल अवसर पारेर सम्मान गरिएको क्लबले जनाएको छ ।
प्रतियोगिता शान्तिपूर्ण, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ । खेलका क्रममा कुनै अप्रिय घटना वा विवाद नभएको र खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको क्लबको भनाइ छ ।
क्लबका अध्यक्ष दीपक सुवेदीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टोलवासी, खेलाडी, सहयोगदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी, क्लबका सचिव गणेश जिसीले प्रतियोगिताले यस क्षेत्रका खेलाडीको क्षमता, प्रतिभा र सम्भावनालाई उजागर गरेको बताउनुभयो ।
स्थानीयस्तरमा प्रतिभावान् खेलाडीहरूको उपस्थिति प्रतियोगिताले प्रमाणित गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा फुटबललाई प्राथमिकतामा राखेर खेलकुद क्षेत्रको विकासका लागि क्लबले आर्थिक, भौतिक तथा नैतिक सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगितामा ३५ वर्षमुनि र ३५ वर्षमाथिका दुई उमेर समूहमा गरी १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको सफलतासँगै क्लबले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि, खेलकुद पूर्वाधारको विकास तथा फुटबल गतिविधिलाई थप व्यवस्थित गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ ।