पोखरा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, गण्डकी प्रदेश कार्यालय पोखराले चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट एक महिनाको अवधिमा १ करोड ५० लाख रुपियाँभन्दा बढीको कारोबार गरेको छ । उक्त अवधिमा सबैभन्दा बढी खुला चिनी बिक्री भएको कार्यालय प्रमुख सागर शेरचनले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका-९, पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको सुपथ मूल्य पसलबाट एक महिनामा १ करोड ५० लाख २२ हजार ७ सय ७८ रुपियाँ बराबरको कारोबार भएको हो ।
कार्यालय प्रमुख शेरचनका अनुसार उक्त अवधिमा ६८ लाख ५३ हजार ५ सय रुपियाँ बराबरको खुला चिनी बिक्री भएको छ ।

त्यसैगरी, ६० लाख ६ हजार ५५ रुपियाँ बराबरको विभिन्न प्रकारका चामल, ९ लाख ७१ हजार ९ सय ८५ रुपियाँ बराबरको खानेतेल, ६ लाख ३२ हजार ८ सय ८ रुपियाँ बराबरको आयोडिनयुक्त नुन तथा ३ लाख ३९ हजार ८ सय २० रुपियाँ बराबरको मैदा र पिठो बिक्री भएको छ ।
साल्ट ट्रेडिङले हरेक वर्ष दशैँ, तिहार तथा छठलगायतका चाडपर्वका अवसरमा उपभोक्तालाई राहत दिने उद्देश्यले सहुलियत मूल्यमा दैनिक उपभोग्य सामग्री बिक्री गर्दै आएको छ ।
यस वर्ष पनि पोखरास्थित सुपथ मूल्य पसलबाट बजार मूल्यभन्दा सस्तो दरमा चिनी, आयोडिनयुक्त नुन, शान्ति तोरीको तेल, विभिन्न ब्रान्डका चामललगायत खाद्य सामग्री बिक्री भइरहेको छ ।
कार्यालय प्रमुख शेरचनका अनुसार बजारमा चिनीको मूल्य महँगो भएका बेला उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसलमा प्रतिकेजी १ सय रुपियाँका दरले चिनी बिक्री भइरहेको छ । एक व्यक्तिले बढीमा ६ केजीसम्म चिनी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, आयोडिनयुक्त नुनमा प्रतिकेजी २ रुपियाँ छुट दिइएको छ । प्रतिकेजी २४ रुपियाँका दरले एक व्यक्तिलाई बढीमा ६ केजीसम्म नुन उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
सुपथ मूल्य पसलमा विभिन्न प्रकारका चामलसमेत सहुलियत दरमा बिक्री भइरहेका छन् । जिरा मसिनो चामल २५ केजीको बोरालाई २ हजार ४ सय ५० रुपियाँमा बिक्री गरिँदै आएको छ ।
त्यसैगरी, लङ ग्रेन बेहुली बासमती चामल २० केजीको बोरालाई ३ हजार रुपियाँ र लङ ग्रेन नातिनातिनी बासमती चामल २० केजीको बोरालाई ३ हजार ५ सय २५ रुपियाँ तोकिएको छ । एसटिसी सोना चामल २५ केजीको बोरालाई १ हजार ६ सय ५० रुपियाँमा बिक्री भइरहेको छ ।
त्यस्तै, शान्ति तोरीको तेल प्रतिलिटर ३ सय ८० रुपियाँमा उपलब्ध गराइएको छ । उपभोक्ताका लागि मैदा र पिठोसमेत सहुलियत मूल्यमा बिक्रीका लागि राखिएको छ ।
सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुका ११ प्रकारका सामग्री बिक्रीका लागि राखिएका छन् । चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा आएपछि सामान खरिद गर्ने उपभोक्ताको चाप गत वर्षको तुलनामा बढी देखिएको कार्यालय प्रमुख शेरचनले बताउनुभयो ।
सरकारको नीति तथा चाडपर्व लक्षित कार्यक्रमअनुसार दशैँ, तिहार र छठ पर्वलाई ध्यानमा राखेर सुपथ मूल्य पसल सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
२०८३ असोज १ गतेदेखि सञ्चालनमा आएको उक्त पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुने जनाइएको छ । गण्डकी प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनका पोखरा र बागलुङमा कार्यालय रहेका छन् ।