दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका रोयटर्सले जनाएको छ ।
नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा २०८३ कात्तिक ५ गते बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोट लागेको छ ।
२०८३ कात्तिक ६ गते शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पले ३ सय भन्दा बढी घर भत्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।
भूकम्पबाट भएको समग्र क्षतिको आकलन भइरहेको र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
सिन्ह्वाका अनुसार तिब्बत स्वायत्त क्षेत्रले भूकम्प विपद्का लागि दोस्रो तहको आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ । चीनको राष्ट्रिय तहमा भने चौथो तहको आपत्कालीन प्रतिक्रिया लागू गरी कार्यदल प्रभावित क्षेत्रमा पठाइएको छ ।