सिन्धुली । तीनपाटन गाउँपालिका-५ स्थित लङ्गुरखोला आहालेमा ‘राष्ट्रका लागि भलिबल, स्वास्थ्यका लागि भलिबल’ भन्ने नारासहित यू-१७ भलिबल प्रतियोगिता सुरु भएको छ ।
न्यु सगरमाथा युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता २०८३ भदौ २२ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष अबिन सिदाली मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीमा आठ जना खेलाडी रहने व्यवस्था गरिएको छ । प्रतियोगितामार्फत किशोर खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै उनीहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ८ हजार रुपियाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ ।
उपविजेता टोलीले नगद ४ हजार रुपियाँसहित मेडल र ट्रफी तथा तेस्रो हुने टोलीले नगद २ हजार रुपियाँसहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत विधातर्फ समेत पुरस्कृत गरिने भएको छ ।
उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर), उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट ब्लकरलाई मेडल प्रदान गरिने क्लबले जनाएको छ ।
स्थानीय युवाको खेल प्रतिभालाई प्रोत्साहन गर्नुका साथै स्वस्थ जीवनशैलीका लागि खेलकुदको महत्वबारे सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबको भनाइ छ ।
पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत भलिबलप्रति युवाको आकर्षण बढ्दै गएकाले यस्ता प्रतियोगिताले स्थानीय स्तरमै खेलाडी उत्पादनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । (फोटोः एआइ जेनेरेटेड)