मानव आवाज

२०८३ भाद्र ८ गते
00: 00: 00
२०८३ भाद्र ८ गते

जनश्रमदानबाट स्थानीयले बनाए गाउँ जाने बाटो

सिन्धुली । तीनपाटन गाउँपालिका-५ स्थित लङ्गुर खोलाको दोभानदेखि तिनसिम्ले-सिसाबोटसम्म स्थानीय समुदायले सामूहिक प्रयास र जनश्रमदानबाट गाउँ जाने बाटो निर्माण गरेका छन् ।

तीनपाटन गाउँपालिकाका उपाध्यक्ष धनबहादुर अशोक पुलामीका अनुसार स्थानीयको सक्रियतामा उक्त बाटो निर्माण गरिएको हो ।

विकासका लागि सम्बन्धित निकायको मात्र मुख ताक्ने प्रवृत्तिको अन्त्य गर्दै स्थानीय युवा, महिला तथा नागरिकहरू एकजुट भएर बाटो निर्माण अभियानमा जुटेका हुन् ।

स्थानीय बासिन्दा टेकबहादुर लामिछानेको नेतृत्वमा सञ्चालन भएको अभियानमा स्थानीय युवा र अग्रज व्यक्तित्वहरूले समेत श्रमदान गरेका थिए ।

स्थानीयको अभियानलाई तीनपाटन गाउँपालिका-१० का व्यवसायी मीनबहादुर घोले र नरबहादुर घोले (नारान) ले ट्र्याक्टर उपलब्ध गराएर सहयोग गरेका थिए ।

स्थानीय समुदायले बाटो निर्माणका लागि श्रम, समय तथा आवश्यक साधन जुटाउँदै सामूहिक रूपमा काम अघि बढाएका हुन् ।

बाटो निर्माणमा सहभागी स्थानीयका अनुसार गाउँमा आवश्यक विकासका कामका लागि सम्बन्धित निकायको मात्र भर पर्नुभन्दा समुदाय आफैं सक्रिय भए धेरै काम गर्न सकिन्छ ।

सामूहिक श्रमदानले स्थानीयबिच आपसी एकता, सहकार्य र सामाजिक जिम्मेवारीको भावना पनि बढाएको उनीहरूको भनाइ छ ।

“आफ्नो गाउँ, आफ्नै जिम्मेवारी” भन्ने भावनासहित सुरु गरिएको यस अभियानले स्थानीयस्तरमा सामूहिक श्रमदानमार्फत विकासका काम अघि बढाउन सकिने उदाहरण प्रस्तुत गरेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार