मानव आवाज

२०८३ भाद्र ५ गते
00: 00: 00
२०८३ भाद्र ५ गते

सिन्धुलीमा साउनमा ४१ अपराधका मुद्दा दर्ता, लागूऔषधका १६ जना पक्राउ

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले २०८३ साउन महिनामा विभिन्न प्रकृतिका ४१ ओटा अपराधसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

दर्ता भएका मुद्दामध्ये २४ ओटा फर्छ्योट भएका छन् भने १७ ओटा मुद्दा अनुसन्धान तथा प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार साउन महिनामा लागूऔषधसम्बन्धी ११ ओटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा १६ जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूबाट १३.४९ ग्राम खैरो हेरोइन, एक किलो १ सय २२ ग्राम गाँजा तथा विभिन्न परिमाणमा चरेस र ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

अपराधसम्बन्धी मुद्दामध्ये ज्यान मार्ने उद्योगका तीन, झुन्डिएर आत्महत्या गरेका सम्बन्धी पाँच, अभद्र व्यवहारका तीन, चोरीसम्बन्धी दुई, बेवारिसे ज्यानसम्बन्धी तीन, सवारी ज्यानका तीन, भवितव्य ज्यानका चार, कुटपिट तथा अङ्गभङ्गसम्बन्धी एक, बैंकिङ कसुरका चार, क्रिप्टोसम्बन्धी एक र सवारी अङ्गभङ्गसम्बन्धी एक मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार साउन महिनामा चालु मुद्दाका ३२ जना प्रतिवादी पक्राउ परेका छन् ।

सार्वजनिक स्थानमा पाकेटमारीसम्बन्धी दुईवटा घटनासमेत अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

फैसला कार्यान्वयनतर्फ चार जना पक्राउ परेका छन् । उनीहरूबाट तीन वर्ष छ महिना दुई दिन कैद तथा १ लाख ६ हजार रुपियाँ जरिबाना असुल गरिएको प्रहरीले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १० ओटा उजुरी परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

पीडित तथा पीडकको उमेर समूह हेर्दा १८ वर्षसम्मका तीन जना, १९ देखि २५ वर्षसम्मका पाँच जना, २६ देखि ३५ वर्षसम्मका १३ जना, ३६ देखि ४५ वर्षसम्मका दुई जना, ४६ देखि ५९ वर्षसम्मका एक जना र ६० वर्षभन्दा माथिका एक जना रहेका छन् ।

साउन महिनामा २५ जना हराएकोमा १० जना फेला परेका छन्। हराउनेमा १४ महिला, चार बालिका, तीन बालक र तीन पुरुष रहेका थिए । फेला पर्नेमा एक महिला, पाँच बालिका, दुई बालक र दुई पुरुष रहेका छन् ।

घरेलु हिंसातर्फ १४ ओटा उजुरी दर्ता भएका छन् । तीमध्ये नौ ओटा शारीरिक र पाँच ओटा मानसिक हिंसासम्बन्धी छन् ।

उजुरीमध्ये १० ओटा मिलापत्र गरिएको, दुई ओटा अदालत पठाइएको र दुई ओटा प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनातर्फ साउन महिनामा १० ओटा दुर्घटना भएका छन् । दुर्घटनामा दुई जनाको मृत्यु, २२ जना घाइते तथा २४ जनाको प्रहरीले उद्धार गरेको विवरणमा उल्लेख छ ।

शान्ति सुरक्षा कायम गर्न प्रहरीले साउन महिनामा नियमित गस्ती, एलआरपी, एसआरपी, पिकेट, चेकिङ तथा ग्रामीण गस्ती गरी २ हजार ५ सय २४ पटक प्रहरी परिचालन गरेको जनाएको छ ।

बन्द, चक्काजाम, आन्दोलन तथा अन्य विशेष परिस्थितिमा समेत आवश्यकताअनुसार सुरक्षा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

विपद् व्यवस्थापनतर्फ साउन महिनामा दुई आगलागी, दुई बाढी, तीन पहिरो, पाँच हावाहुरी र एक चट्याङ गरी १३ ओटा विपद्का घटना भएका छन् ।

विपद्का घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् भने घर तथा गोठमा समेत क्षति पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

अपराध न्यूनीकरणका लागि प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमलाई समेत प्राथमिकता दिएको जनाएको छ ।

समुदायसँगको साझेदारीमा ५१ ओटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी एक हजार १ सय ५ जनालाई सहभागी गराइएको छ ।

त्यसैगरी मानव बेचबिखनसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २५ जना विद्यार्थीलाई सहभागी गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अपराध न्यूनीकरणका लागि सूचना संकलन, नागरिक सचेतना, गस्ती तथा निगरानीलाई बढाइएको छ ।

नागरिकका गुनासा तथा समस्या तत्काल सम्बोधन गर्न प्रहरी कार्यालयको हटलाइन तथा नागरिक सहायता कक्षलाई समेत सक्रिय बनाइएको छ ।

साउन महिनामा नागरिक सहायता कक्षमा एक हजार ५ सय ४९ जना सेवाग्राही पुगेको प्रहरीको विवरणमा उल्लेख छ ।

Author

Share the News

Recent News

Related News