सिन्धुली । दुधौली नगरपालिकाले जलनबाट पीडित नगरवासीको निःशुल्क उपचारका लागि जनस्वास्थ्य सरोकार ट्रस्ट नेपालअन्तर्गतको कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको छ ।
सम्झौतामा दुधौली नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारु र जनस्वास्थ्य सरोकार ट्रस्ट नेपाल, कीर्तिपुर अस्पतालका तर्फबाट अस्पताल निर्देशक डा. किरण किशोर नकर्मीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र लेखा प्रमुख अमृत खनालले साक्षीका रूपमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार दुधौली नगरपालिकाका स्थायी बासिन्दा तथा नगरपालिकाका कर्मचारीले जलनसम्बन्धी उपचारका लागि नगरपालिकाबाट सहयोग पाउने भएका छन् ।
आर्थिक रूपमा विपन्न, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, हिंसापीडित, एकल महिला तथा विपन्न र लक्षित वर्गका नागरिकलाई नगरपालिकाको सिफारिसका आधारमा उपचार सेवा उपलब्ध गराइने जनाइएको छ ।
जलनसम्बन्धी जाँच, उपचार तथा व्यवस्थापनका लागि दुधौली नगरपालिकाले ‘जलन उपचार तथा व्यवस्थापन’ शीर्षकमा १० लाख रुपैयाँको उपचार कोष स्थापना गर्ने भएको छ ।
उक्त कोषबाट सम्झौतामा तोकिएको प्रक्रिया तथा अस्पतालले उपलब्ध गराएका आवश्यक कागजात र बिलका आधारमा उपचार खर्च भुक्तानी गरिनेछ ।
जलन उपचार सेवा लिन बिरामीले दुधौली नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित कागजात वा नागरिकता तथा मतदाता परिचयपत्र पेस गर्नुपर्नेछ ।
नगरपालिकाका कर्मचारीका परिवारका हकमा कर्मचारी परिचयपत्र, बिरामी भर्ना तथा डिस्चार्जसम्बन्धी कागजात र अन्तिम उपचार बिलको प्रतिलिपि आवश्यक पर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा जलनसम्बन्धी उपचारका अतिरिक्त दुर्घटना हुन नदिन अपनाउनुपर्ने सावधानी, दुर्घटना भएलगत्तै गर्नुपर्ने प्राथमिक उपचार तथा उद्धारसम्बन्धी तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने विषयसमेत समेटिएको छ । यस्ता कार्यक्रम दुवै पक्षको समन्वय र सहमतिमा सञ्चालन गरिने जनाइएको छ ।
त्यसैगरी, जलन उपचार कोषमा रहेको रकमको खर्च, सोधभर्ना तथा थप बजेट आवश्यकताका विषयमा दुवै पक्षबिच कम्तीमा वर्षमा एकपटक छलफल तथा बैठक गर्ने सहमति भएको संस्थाले जनाएको छ ।