पछिल्ला दिनहरुमा गोदावरी नगरपालिका अशान्त छ । दुई कार्यकालको उत्तरार्धमा रहेका मेयर/उप-मेयर माथि भ्रष्टाचारको गम्भीर आरोप छ । एक नम्बर भ्रष्टाचारि नगरपालिका चित्रित गर्दै , सामाजिक सञ्जालमा लगाइएको आरोपका कारण नगरबासी राजनीतिका दाउपेच, आरोप र अफवाहको सवालमा चिन्तन , मनन र बहसमा छन् । आरोप लगाउने सामाजिक सञ्जाल प्रयोगकर्ता माथि नरपालिकाले साइबर ब्युरोमा उजुरी गरेको छ । कार्बाही होला, नहोला ? हुँदा के कार्बाही होला ? ती सब आफ्नो ठाउँमा छ । यति सङ्गिन आरोप लगाउने चेहरा भने बाहिर आउनु जरुरी छ । यीनै घटनाक्रममाथि यो लेख केन्द्रित छ ।
एक नम्बर भ्रष्टाचारी नगरपालिकाको अफवाह
सामाजिक सञ्जालको यो अफबाह दण्डनीय अपराध हो । राजनीतिक कायरहरुले मात्र यस्ता कार्य गर्छन् । राजनीतिमा बिमती राख्न पाइन्छ । आफुलाई लागेको असहमति बोल्न, लेख्न र अभिव्यक्त गर्न पाइन्छ । बहुसङ्ख्यक मतदाताले चुनेर पठाएका प्रतिनिधिमाथि बिना आधार र प्रमाण, यस्ता मिथ्या आरोप भने लगाउन पाइन्न । हिम्मत हुनेले, के कति कारणले, के के कुरामा, आफू असहमत भएको हो प्रष्ट भन्न सक्नुपर्छ । प्रमाण पुग्छ भने अड्डा अदालतमा मुद्दा चलाउन सक्नुपर्छ । तर, जसरी नगरपालिकाका पदाधिकारीमाथि छद्म रुपमा प्रहार भएको छ, त्यो निन्दनीय छ । भर्त्सनायोग्य छ ।
छद्म आक्रमण र बेनामी उजुरीले कमजोर बन्दै गएको नगरको निर्णय क्षमता
स्थानीय तह, स्थापित हुँदै गरेको नयाँ राज्य संरचना हो । प्रशासनिक विधिप्रक्रियाको अलावा, चुनिएर आएका जनप्रतिनिधिको आत्मबल र विवेकले नगरको समग्र विकास र निर्णय क्षमतामा ठूलो भुमिका खेल्छ । संविधानले दिएका अधिकारलाई अबलम्बन गर्दै, नगरलाई आवश्यक नीति, विधि बनाउदै जानुपर्ने स्थितिमा रहेको नगरलाई ठुला र सङ्गिन आरोप लगाउने र सुनियोजित रुपमा मुद्दा मामलामा फसाउने मात्र हो भने नगरले अपेक्षाकृत काम गर्न सक्दैन ।
यसभन्दा अगाडि पनि नगरका मेयर र उप-मेयरलाई अख्तियारमा बेनामी उजुरी पर्यो । भौतिक पुर्वाधार करमा करोडौँ रुपियाँ घोटाला गरेको आरोप लाग्यो । मुद्दा चल्दै जाँदा मेयर र उपमेयर दुवै निलम्बित भए । नगर नेतृत्वबिहिन बन्यो । आखिरमा उनिहरुले मुद्दा जिते । पद बहाल भयो । केही क्षणको हैरानी र दिक्दारीसहित पद बहाल भएका मेयरले पुनः पुर्वाधार उपयोग कर लगाउन आनाकानी गरे । वार्षिक २० औं करोड रुपियाँ उठिरहेको पुर्वाधार कर नगरले गुमायो । फाइदा कसलाई भयो ? अरबौँको निर्माणजन्य उद्योग बन्द अवस्थामा छन् काठमाडौं उपत्यकाले सहज तवरले पाउँदै आएको गुणस्तरीय निर्माण सामाग्री गुम्यो । सबै ढङ्गले घाटा नगर/नगरबासी र राष्ट्रलाई नै भयो । बेनामी उजुरीको सट्टा खुलेर मुद्दा दायर गर्न सकेको भए त्यसले राजनीतिक अर्थ राख्दथ्यो । मुद्दा हारिरहँदा पनि के कति कारणले मुद्दा हालिएको थियो । र, हारिरहँदा पनि मुद्दा हाल्नुको अर्थ, औचित्य र त्यसको जस/अपजस गर्व साथ बोक्ने जिम्मेवार व्यक्ति खडा भइरहेको हुने थियो । सायद, “नगरमा सशक्त बागी पनि छन् है” भन्ने सन्देश पनि जान्थ्यो । जबाफदेहिता सहित खुलेर गरिने विरोधले नगर र नगर प्रतिनिधिलाई थप जबाफदेही त बनाउथ्यो नै वैकल्पिक नेतृत्व समेत तयार गर्दै लग्दथ्यो ।
अख्तियारमा मुद्दा हाल्ने र विशेष अदालतमा मुद्दा चलाउने स्थितिमा, विपक्षी र विरोधी यहीँ चुक्न पुगे । त्यो कायरता थियो । मुद्दा नै हाल्नु थियो । विशेष अदालतमा मुद्दा चल्ने स्थिति समेत थियो भने बेनामे उजुरी गरेर गोडा किन कमाएको ? अहिले आएर पुष्टि हुनै नसक्ने विषयलाई जसरी सामाजिक सञ्जालमा उछालिएको छ, त्यो नगरका निर्वाचित प्रतिनिधिसँग मात्र सीमित आरोप किमार्थ होइन । यो सिङ्गो नगरपालिकाको गरिमासँग जोडिएको विषय हो ।
यी र यस्ता घटनाले नगरबासीको गरिमा र नेतृत्वको निर्णय क्षमता घट्दो रहेछ । आत्मसम्मानमा ठेस लाग्दा, नेतृत्वको आत्मबल खस्कँदो रहेछ । खस्किएको आत्मबलको प्रभाव निर्णय क्षमतामा पर्न जाँदा, त्यसले नागरिक हितलाई हानी गर्दोरहेछ । अहिले हामी गोदावरी नगरबासी यही व्यहोरेर बसेका छौँ ।
स्वस्थ र रचनात्मक आलोचनाको पक्षमा
जनप्रतिनिधि हाम्रै मतले, हाम्रै प्रतिनिधित्व गर्ने, आवधिक पात्र हुन् । व्यक्तिका आनिबानी, स्वभाव, चरित्र निजी कुरा हुन् । त्यसमा सहमति वा असहमति हुन सक्छ । आफ्नो पालामा केही राम्रो गरौँ । आफूले गरेको कार्यको प्रशङ्सा होस् भन्ने चाहना सबैमा हुन्छ । आफू भएको बेला समग्र नगर सँगसँगै आफ्नो ठ्याक्कै गाउँटोलको अलिक बढी विकास होस् भन्ने चाहनु मानवीय स्वभाव हुन् । त्यसको धेरै चर्चा के गरौँ ? “प्रादेशिक अस्पताल बज्रबाराहीमा हुँदाहुँदै चार किलोमिटरको आसपासमा किन नगर अस्पताल ?” भनेर प्रश्न, यो पङ्तिकारले पनि गरेको हो । अन्य कैयन विषयमा विविधध कालखण्डमा विरोधका आवाज पनि उठाएकै हो । सामाजिक सञ्जालमा गुनासो पनि बारम्बार गरेकै हो । सँगसँगै यो प्रतिबध्दता पनि गर्दै आएँ कि-“लड्नै परे नगरपालिकाको गेट्मा आएर धर्ना बसौँला । लोकतन्त्रमा सार्वजनिक पदमा भएका व्यक्तिमाथि सके खुलेर औँला उठाउँला । छ्द्म प्रहार, पिठ्यूँ पछाडि चाहिँ गर्ने छैन ।”
म सधैँ मेरो प्रतिबध्दतामा कायम छु । यो नै मेरो नगर प्रतिको योगदान हो । रहिरहन्छ । यसलाई कोही कसैले सहयोग मानोस् वा असहयोग । तर, यतिबेला बेनामेहरुले जुन अफवाह सामाजिक सञ्जालमा फैलाएका छन् । त्यो भने निन्दनीय छ । दण्डनीय छ । राजनीतिक हुति हुनेहरुले, लोकतान्त्रिक अधिकारको प्रयोग गरेर, खुला चुनौती दिन सक्नुपर्छ । प्रमाण पुग्छ भने कानुनी चुनौती दिन सक्नुपर्छ । यी दुवै गर्न नसक्ने तर पर्दा पछाडिबाट हुइँय्या फैलाउनेसँग नपरपालिका विचलित हुनुहुन्न । विचलित हुन आवश्यक छैन ।
नीति, विधि, कार्यशैली र कार्यक्रममा विमति हुन सक्छ । सशक्त विरोध स्वस्थ समाज र लोकतन्त्रको आवश्यकता हो । छद्म प्रहार र आधारहिन अफवाह भने दण्डनीय अपराध हुन् । नगरले अधिकतम कारवाहीको लागि पहल गर्नुपर्छ त भन्दिनँ तर धमिलो पानिमा माछा मार्न खोज्ने छद्म भेषीहरुको नकाब भने उतार्नु पर्छ । दोषारोपण गर्ने चेहरा नगरबासी सामु बाहिर आओस् भन्ने अपेक्षा चाहिँ गर्छु ।