ललितपुर । ग्वार्को ओभरपासमा २०८३ साउन २१ गते बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बिहान करिब १०:३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस ओभरपासमा ठोक्किएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा अन्दाजी ४० वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका ६ जनालाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ । उनीहरूको उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।