काठमाडौं । सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको संविधान प्रदत्त स्वास्थ्य र शिक्षाको हक सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गर्दै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र इन्सेकका तर्फबाट वरुण बस्यालले २०८३ साउन १५ गते सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको हो ।
रिटमा सुकुम्बासी बस्तीका बालबालिकाले शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच नपाउँदा संविधानले प्रत्याभूत गरेका मौलिक हक प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै राज्यलाई आवश्यक नीति, कार्यक्रम र व्यवस्था गर्न आदेश जारी गर्न माग गरिएको छ ।
उक्त रिटमा निवेदकका तर्फबाट अधिवक्ताहरू गौरव बराल, सिराज बराल, बिपना शर्मा, विनोद पौडेललगायतले बहस गर्नुहुने जनाइएको छ ।
रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले सरकारलाई कारण देखाऊ आदेश वा अन्तरिम आदेश दिने विषयमा निर्णय गर्नेछ ।