मानव आवाज

२०८३ श्रावण १६ गते
00: 00: 00
२०८३ श्रावण १६ गते

मानवअधिकार र पत्रकारिताका कर्मठ योद्धा: रुद्रबहादुर खड्का

ललितपुर । रुद्रबहादुर खड्काको जीवन एउटा व्यक्तिको जीवनी मात्र होइन, मानवअधिकारप्रतिको अटुट प्रतिबद्धताको प्रेरणादायी यात्रा हो । शारीरिक चुनौतीलाई कमजोरी होइन, समाजसेवाको शक्तिमा रूपान्तरण गर्दै उहाँले रेडियोबाट सुरु गर्नुभएको मानवअधिकार जागरण अभियानलाई पत्रिका र डिजिटल माध्यमसम्म निरन्तर विस्तार गर्नुभएको छ । गाउँगाउँ पुगेर चेतना फैलाउने, विद्यालयदेखि स्थानीय सरकारसम्म मानवअधिकारको बहस स्थापित गर्ने, तालिम, अन्तरक्रिया, समाचार र निरन्तर पैरवीमार्फत मानवअधिकारलाई व्यवहार र नीतिसँग जोड्ने उहाँको योगदान सिन्धुलीका लागि ऐतिहासिक महत्वको छ । आज स्थानीय तहहरूले मानवअधिकारका लागि छुट्टै बजेट विनियोजन गर्न थालेका छन् भने त्यसको पछाडि उहाँजस्ता अभियानकर्मीको दशकौँ लामो निरन्तर प्रयत्न पनि जोडिएको छ । समयसँगै माध्यम फेरिए, प्रविधि बदलियो, तर रुद्रबहादुर खड्काको समर्पण, सेवाभाव र मानवअधिकारप्रतिको आस्था कहिल्यै फेरिएन । त्यसैले उहाँ धेरैका लागि एउटा व्यक्तिको नाम मात्र होइन, मानवअधिकारको पर्याय बन्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले २०८२ सालको प्रकाश मानवअधिकार पुरस्कार कमलामाई नगरपालिका ९ भिमानका ५४ वर्षीय रुद्रबहादुर खड्कालाई दिने जनाएको छ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका-९, भीमान निवासी खड्का मानव अधिकार उल्लङ्घन, अन्याय, विभेद, दण्डहीनता तथा सामाजिक बहिष्करणका घटनालाई निरन्तर रुपमा उजागर गर्दै पीडित तथा सीमान्तकृत समुदायको आवाजलाई सार्वजनिक सरोकारको विषय बनाउनु साथै शारीरिक असक्तताका बाबजुद पनि अदम्य साहस, अटल प्रतिबद्धता र अथक सक्रियताका साथ मानव अधिकार, सामाजिक न्याय र मानवीय मर्यादाको पक्षमा निरन्तर उभिनुभएको छ । उहाँलाई बुझेका साथीहरू के भन्नुहुन्छ त ?

लोकमणी तिमल्सिना

सम्पादक, स्वाधीन खबरपत्रिका

​कहिलेकाहीँ शब्दहरू भावनाको अगाडि ज्यादै साना र फिक्का लाग्छन् । परेलाका डिलमा खुसी र गर्वका आँसु छचल्किँदा छातीभित्र एउटा अलौकिक गौरवबोध जागृत हुन्छ । मेरा अनन्य मित्र, ‘स्वाधीन खबर’ पत्रिकाका प्रधानसम्पादक तथा कमलामाई नगरपालिका-९, भीमान (सिन्धुली) का अनवरत अधिकारकर्मी रुद्रबहादुर खड्काले देशकै प्रतिष्ठित ‘३२ औँ प्रकाश मानवअधिकार पुरस्कार’ प्राप्त गर्नुभएको समाचार सुन्दा मेरो मन त्यसैगरी तरङ्गित भएको छ । २५ वर्षअघि सुरु भएको हाम्रो आत्मीय मित्रता र ‘स्वाधीन खबर’ पत्रिकामा उहाँ प्रधानसम्पादक अनि म सम्पादक भएर गरेको सहकार्य केवल पेसागत सम्बन्ध मात्र थिएन । यो त निष्ठा, पत्रकारिता र मानवअधिकारका लागि सँगै कोरिएको एउटा स्वर्णिम इतिहास थियो । ​”शारीरिक अशक्तताका कारण शरीर थरथर काँप्दा पनि जसको विचार र कलम कहिल्यै काँपेन । जसको अदम्य आत्मबल र निडरताको अगाडि शोषण र अन्यायका किल्लाहरू सधैँ ढले-ती नै हुन् मेरा प्रधानसम्पादक, मेरा सहयात्री, मेरा मित्र रुद्रबहादुर खड्का !”

​शारीरिक रूपमा रुद्रजी केही कमजोर हुनुहुन्छ । तर, उहाँको आत्मबल, इच्छाशक्ति र निडरता भने सगरमाथा जस्तै उच्च र चट्टान जस्तै बलियो छ । बितेका २५ वर्षमा मैले उहाँलाई कहिल्यै आफ्नो शारीरिक अशक्तताप्रति गुनासो गरेको वा हार मान्दै पछि हटेको देखिनँ । गाउँका कच्ची र अप्ठ्यारा बाटाहरूमा आफ्नो अशक्त शरीरलाई घिसार्दै, सहाराको लट्ठी वा कसैको काँध थामेर जब उहाँ अन्यायमा परेका  र असहायका दुःख पुछ्न निस्कनुहुन्थ्यो, तब बलिया भनिने मानिसहरू पनि उहाँको साहस देखेर नतमस्तक हुन्थे । शरीरले असह्य पीडा दिँदा पनि उहाँ सधैँ मुस्कुराउँदै भन्नुहुन्थ्यो-“मित्र ! मेरो शरीर अशक्त होला, तर मेरो आत्मा र कलम कहिल्यै अशक्त हुन सक्दैन ।” उहाँको त्यो आँट सम्झँदा आज पनि मेरा आँखा रसाउँछन् ।

​रुद्रजीका लागि पत्रकारिता र मानवअधिकार छुट्टाछुट्टै विषय थिएनन् । ती त उत्पीडितहरूको आवाज बन्ने दुई बलिया हतियार थिए । ‘स्वाधीन खबर’को प्रधानसम्पादकका रूपमा उहाँले सधैँ सत्य, निष्पक्ष र निर्भीक पत्रकारिताको नेतृत्व गर्नुभयो । गाउँगाउँमा हुने विभेद, शोषण, दण्डहीनता र मानवअधिकार उल्लङ्घनका घटनाहरूलाई उजागर गर्न उहाँको कलम कहिल्यै रोकिएन । ठूलाठूला सत्ता र शक्तिको अगाडि पनि उहाँ कहिल्यै झुक्नुभएन । पीडितलाई न्याय दिलाउन गाउँको आँगनदेखि न्यायपालिकासम्म र स्थानीय तहदेखि राष्ट्रिय मञ्चहरूसम्म उहाँले निरन्तर बजाएको न्यायको आबाज/दृष्य आज सिन्धुलीभरि गुञ्जायमान छ ।

​रुद्रजीको यो सङ्घर्षपूर्ण गाथा पढेर यदि कसैको आँखामा आँसु आउँछ भने, त्यो दयाको आँसु होइन । त्यो त उहाँको विशाल आत्मबल र साहसप्रतिको उच्च सम्मान र श्रद्धाको आँसु हो । निरोगी र हट्टाकट्टा शरीर भएर पनि साना-तिना दुःखमा निराश हुने हामीहरूका लागि रुद्रबहादुर खड्का एउटा बलियो ऐना हुनुहुन्छ । शारीरिक सीमालाई जितेर समाज परिवर्तनमा अहोरात्र खटिन सकिन्छ भन्ने कुरा उहाँले आफ्नो जीवनबाट प्रमाणित गरिदिनुभएको छ । उहाँको जीवनले हामी सबैको मनभित्र एउटा आगो सल्काउँछ-“यदि मनमा आँट छ भने, समाजका लागि केही न केही गरेरै छाड्नुपर्छ !”

मानवअधिकारकर्मी लोकराज अवस्थी

पूर्व अध्यक्ष, रिलेक नेपाल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रदान गर्दै आएको प्रतिष्ठित ‘प्रकाश मानवअधिकार पुरस्कार’ (३२ औँ) बाट सिन्धुलीका मानवअधिकारकर्मी रुद्रबहादुर खड्का सम्मानित भएको जानकारी पाउँदा अत्यन्तै खुसी लागेको छ । ​उहाँ विगत दुई दशकदेखि ग्रामीणस्तरमा मानव अधिकार, सामाजिक न्याय र आवाजविहीनहरूको पक्षमा निरन्तर कार्यरत गरेको व्यक्तित्वलाई इन्सेकले सम्मान सराहनीय कार्य हो । यसले अधिकारको क्षेत्रमा लागेका जोसुकै अधिकारकर्मीहरूमा नयाँ उत्साह र प्रोत्साहन थपेको छ ।

​विगत दुई दशकदेखि सिन्धुलीलाई आफ्नो कर्मथलो बनाएर मानवअधिकारको क्षेत्रमा अहोरात्र खटिनुभएका रुद्रबहादुर खड्का आम युवाहरूका लागि प्रेरणाका स्रोत (आइडल) हुनुहुन्छ । कयौं बाधा, अडचन र चुनौतीका बाबजुद पनि सामाजिक न्यायको अभियानमा उहाँले देखाउनुभएको निरन्तरताकै परिणाम नै आज यो उचाईमा पुग्नु भएको हो । यस्तो कार्य जोकोहीका लागि सहज हुदैनन् । यसका लागि ठूलो मेहनत, लगनशीलता र अदम्य साहस चाहिन्छ, जुन रुद्रजीले सम्भव बनाएर देखाउनु भयो ।

​म रिलेक नेपालको अध्यक्ष हुँदादेखि नै रुद्रजीसँग नजिकबाट काम गर्ने अवसर पाएको थिएँ, जुन मेरो लागि पनि सधैँ प्रेरणाको विषय रह्यो । रुद्रजी रिलेक नेपालमा आउँदा जहिले पनि काँधमा कालो झोला, अनि झोलाभित्र मानव अधिकारसम्बन्धी पुस्तक तथा सामग्रीहरू बोकेर हिँड्ने उहाँको शैली अझै सम्झनामा ताजा छ । रिलेक नेपालको कार्यालयमा आउँदा उहाँ सधैँ मानवअधिकारसँग जोडिएका महत्त्वपूर्ण विषयवस्तु लिएर आउनुहुन्थ्यो । र, समस्याको समाधान नभएसम्म निरन्तर लागिरहनुहुन्थ्यो । उहाँ सिन्धुलीमा मानवअधिकारसम्बन्धी विविध कार्यक्रम, छलफल, अन्तरक्रिया तथा बालबालिकाको क्षमता अभिवृद्धिका गतिविधिहरू आयोजना गर्न उहाँ सधैँ सक्रिय रहनुभयो ।

​रिलेक अभियानका क्रममा रुद्रजीसँग सहकार्य गरेका धेरै अविस्मरणीय अनुभवहरू छन् । विशेष गरी तत्कालीन माओवादी द्वन्द्वका कठिन दिनहरूमा उहाँले गर्नुभएको कार्य अत्यन्तै प्रशंसनीय छ । त्यसैगरी, २०६१ माघ १९ को कदमपश्चात् चलेको प्रजातान्त्रिक आन्दोलनमा उहाँले सिन्धुलीमा मात्र नभई काठमाडौँसम्म पुगेर सक्रिय सहभागिता जनाउनुभएको थियो । त्यो अत्यन्तै चुनौतीपूर्ण समयमा देशमा लोकतन्त्र स्थापनाका लागि उहाँले पुर्‍याउनुभएको योगदान सधैँ अविस्मरणीय  रह्यो । ​रुद्रजी आजका दिनमा पनि उत्तिकै निष्ठाका साथ अधिकारमुखी अभियानमा निरन्तर क्रियाशील हुनुहुन्छ । उहाँको यो अभियान अझ सशक्त रूपमा अगाडि बढिरहोस । यसले निरन्तरता पाइरहोस भन्ने कामना गर्दछु । साथै उहाँको उत्तरोत्तर प्रगति र सफलताको  लाखौँ-लाख शुभकामना छ ।

मानव आवाजकर्मी खड्कालाई प्रकाश मानवअधिकार पुरस्कार

पत्रकार केशव अधिकारी

पूर्व महासचिव, रिलेक नेपाल

रुद्रबहादुर खड्का शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा भने अत्यन्त सशक्त व्यक्तित्व हुनुहुन्छ । सामान्य किसान परिवारमा जन्मे-हुर्केका उहाँ मानवअधिकार शिक्षा रेडियो श्रोता क्लब (रिलेक नेपाल) ले जन्माएको एक निष्ठावान् र कर्मठ योद्धा हुनुहुनुहुन्छ ।

मानवअधिकारको रक्षा र प्रवर्धनमा निरन्तर समर्पित रुद्रसँग मेरो पहिलो भेट २४ वर्षअघि (२०५९ सालमा) काठमाडौँको स्युचाटारस्थित इन्सेक केन्द्रीय कार्यालयमा भएको थियो । उहाँकै कारणले मैले धेरै पटक सिन्धुली पुग्ने अवसर पाएको छु । त्यसक्रममा एक पटक म उहाँको जन्मघरमै पुगेको थिएँ । सशस्त्र द्वन्द्वको त्यो कठिन समयमा मानवअधिकारका मुद्दाहरू उठाउँदै सिन्धुलीका गाउँबस्ती पुगेको, मानवअधिकार तालिम सञ्चालन गरेको र उहाँको परिवारसँगै मीठो सामीप्यमा रहेर भलाकुसारी गर्दै खाना खाएको सम्झना अझै ताजा छ ।

रुद्र निस्वार्थ भावना, निडर स्वभाव र दृढ अठोट भएका हक्की व्यक्तित्व हुनुहुन्छ । उहाँ राजनीतिक रूपमा समेत निकै सचेत हुनुहुन्छ । उहाँ कसैसँग बोल्न डराउनुहुन्न; समाजमा जे देख्नुहुन्छ, त्यसको विश्लेषण गरी सही र गलत छुट्ट्याएरै छाड्नुहुन्छ । गलत काम गर्नेहरू उहाँसँग डराउँछन् । “केही गडबडी भयो भने रुद्रले छाड्दैन है, समाचार लेखिदिन्छ !” भन्ने छाप उहाँले सिन्धुलीमा बनाउनुभएको छ । कसैलाई अन्याय नगर्ने, सबैप्रति समान व्यवहार गर्ने र सबैसँग सुमधुर सम्बन्ध कायम राख्न सक्ने उहाँको निपुणता लोभलाग्दो छ ।

पत्रकारिता र मानवअधिकार अभियानका माध्यमबाट उहाँले विशेष गरी सिन्धुली जिल्लामा पुर्‍याएको योगदान अतुलनीय छ । शारीरिक अपाङ्गताका कारण आउने अनेकौँ अप्ठ्याराहरूलाई चिर्दै २४ वर्षअघि पहिलो पटक भेट्दा उहाँ जति सक्रिय र ऊर्जावान् हुनुहुन्थ्यो, आज पनि उहाँको त्यो सक्रियता, तत्परता र जाँगर उत्तिकै कायम छ ।

अहिले पनि म सिन्धुली पुग्दा भेट्ने पहिलो रोजाइको पात्र रुद्र नै हुनुहुन्छ । उहाँसँग भेटेर मात्र फर्कने गर्छु । भेट नहुँदा पनि मोबाइलमार्फत निरन्तर सम्पर्क भइरहन्छ । रुद्रजी कहिलेकाहीँ धादिङसम्मै आइपुग्नुहुन्छ, जसले गर्दा हाम्रो सम्बन्ध हिजो जस्तै प्रगाढ र आत्मीय छ ।

मानवअधिकारकर्मी विष्णुबहादुर खत्री

पूर्व उपाध्यक्ष, रिलेक नेपाल

श्रोता क्लबबाट शुरु भएको रुद्रजीको मानवअधिकार यात्रा, युवा मानवअधिकारकर्मी, ग्रामीण तहको अधिकारकर्मीको पहिचान हुँदै आजसम्म निरन्तर रुपमा सामाजिक नागरिक अभियान्ता र मानवअधिकारकर्मीको रुपमा तीन दशकदेखि योगदान दिइरहनु भएको छ ।

उहाँले निरन्तर पुर्‍याउनु भएको योगदानको उच्च कदरसहित यो राष्ट्रियस्तरको सम्मान र पुरस्कार रुद्र खड्कालाई प्रदान गर्ने निर्णय भएकोमा साह्रै खुशी लागेको छ । रुद्रजीको काम, उहाँको लगनशीलता, योगदान र निरन्तरता मैले नजिकबाट देखेको छु । उहाँको घर गएको छु । बसेको छु । उहाँको परिवारसङ्गै खाना खाएको छु । सशस्त्र द्वन्द्वको कठिन समयमा उहाँको गाउँमा मानवअधिकार तालिम सञ्चालन गरेको याद ताजा छ । खोला तरेर उहाँको घर गएको, इलाका वन कार्यालयको हलमा तालिम चलाएको । त्यस्तो कठिन समयमा पनि रुद्रजीको मानवअधिकारप्रतिको प्रतिबद्दता प्रशंशायोग्य थियो । छ । र, रहनेछ । गाउँको साधारण किसान परिवारमा जन्मेर, दुरदराजमा हुर्किएर, शारीरिक अपाङ्गताका कारण कतिपय पहुँचहरुमा आउने अप्ठ्याराहरुलाई चिर्दै रुद्रजीले एउटा असल मानवअधिकारकर्मीको गर्विलो उदाहरण बनाउनु भएको छ ।

पहिला पहिला निरन्तर कुरा हुन्थ्यो । प्राय उहाँले नै कल गर्नु हुन्थ्यो । केही वर्ष भयो कुरा हुन पाएको छैन । हिजोआज रुद्रजी अलि ब्यस्त पनि हुनु भयो होला । अब एकपटक कल गरेर बधाई दिने मौका प्राप्त भएको छ । यो सम्मान रुद्रजीसँगै मानवअधिकार शिक्षा रेडियो श्रोता क्लबमा रहेर आफ्ना महत्वपुर्ण समय योगदान गर्नुभएका सबै साथीहरुको समेत सम्मान हो भन्ने लाग्छ मलाई । साथीहरुलाई पनि बधाई छ ।  इन्सेक र विशेषगरी छनौट समितिको यो एउटा ऐतिहासिक निर्णय हो । श्रोता क्लबबाट शुरु गरेका अभियान र मानवअधिकार अभियान्ताहरुको निरन्तरता देशैभर उत्साहजनक छ र योगदान अमुल्य छ । रहिरहने छ । रहिरहोस । रुद्रजीलाई धेरै बधाई ।

मानवअधिकारकर्मी दुर्गा पोखरेल

रुद्रबहादुर खड्का नेपालका एक सच्चा मानवअधिकारकर्मी हुनुहुन्छ । उहाँले २०५६ सालदेखि सिन्धुली जिल्लामा मानवअधिकार शिक्षा र जनचेतना फैलाउने अभियान सञ्चालन गर्दै आउनुभएको छ । सुरुआतमा उहाँले रेडियोमार्फत गाउँ–गाउँमा मानवअधिकारसम्बन्धी जानकारी पुर्‍याउनुभयो भने पछि जनआवाज र स्वाधीन खबर पत्रिकामार्फत मानवअधिकारका विषयलाई निरन्तर उठाउँदै आउनुभएको छ । उहाँले विद्यालय, समुदाय, महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा सरकारी कर्मचारीका लागि तालिम, अन्तरक्रिया र सचेतनामूलक कार्यक्रम सञ्चालन गरी मानवअधिकारलाई जनजीवनसँग जोड्ने महत्वपूर्ण कार्य गर्नुभएको छ । मानवअधिकारको संरक्षण, प्रवर्धन र जनचेतना अभिवृद्धिमा पुर्‍याएको दीर्घकालीन योगदानको सम्मानस्वरूप इन्सेकले उहाँलाई प्रकाश मानवअधिकार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । उहाँको जीवनले समर्पण, निरन्तरता र सेवाभावका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ भन्ने प्रेरणादायी सन्देश दिन्छ ।

मानवअधिकारकर्मी सञ्जय चौधरी

महासचिव, रिलेक नेपाल

मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशिल युवा मानवअधिकारकर्मीहरुको संस्था रिलेक नेपालसँग जोडिन पुग्दा एउटा भुल्नै नहुने नाम हो- रुद्रबहादुर खड्का । आधारभुत रुपमा सिन्धुली जिल्लामा क्रियाशील खड्का राष्ट्रिय अभियानहरुमा पनि निकै सक्रिय रुपमा लाग्नुभएको छ । विविधतायुक्त हाम्रो समाजमा अझै विभिन्न वर्ग तथा समुदायले अनेकन विषमता, विभेद र उत्पीडन भोग्न विवश छन् । शारिरीक रुपमा अपाङ्गता भए पनि केबल अपाङ्गताको आवाज र अधिकार मात्र नभई सिङ्गो मानव समाजको बारेमा आवाज उठाउँदै आउनुभएका खड्का निरन्तर यस क्षेत्रमा क्रियाशील हुनुहुन्छ । अपाङ्गता भएका व्यक्तिले असक्षम वा केहि गर्न सक्दैन भनी मनोविज्ञान पालेर बस्ने यो समाजमा तिनै वर्गको प्रतिनिधित्वमात्रै होइन निकै सकृय रुपमा लाग्ने थोरै व्यक्तिभित्र पर्नुहुन्छ रुद्रजी । म आफैँ अध्ययन र कर्मको क्रममा काठमाण्डौं रहँदा-बस्दा उहाँसँग पटकपटक साक्षात्कार भएको छ । विशेषतः इन्सेकको मानवअधिकार र सामाजिक न्यायको अभियानको सन्दर्भमा इन्सेक र रिलेक नेपालको केन्द्रीय कार्यालयमा अनेकौं पटक खड्कासँग भेट भएको छ ।

अरुले के भन्लान, के सोच्लान भनेर चासो र चिन्ता नलिने, मनमा भय नपाल्ने, मनमा लागेका कुरा बोल्नलाई धक नमान्ने र अनौपचारिक बसाइका क्रममा जिस्किन, ख्यालठट्टा गर्न मन पराउने खड्कालाई समानता, मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा स्वयम्‌सेवी रुपमा योगदान पुर्‍याएको उहाँको लामो यात्रालाई स्मरण र कदर गर्दै इन्सेकले सम्मान गर्न लागेको खबर सुन्न पाउँदा मन असाध्यै प्रफुल्लित भएको छ । रुद्रजीको यो क्रियाशीलता निरन्तर जारी रहोस् । यो सम्मान युवा स्वयम्‌सेवी संस्था रिलेक नेपाल र रिलेककर्मीहरुप्रतिको पनि सम्मान हो, जसले देशभरी हजारौं असल मानवअधिकारयोद्धा र सामाजिक रुपान्तरणका बाहकहरु उत्पादन गरेको छ । म आफैँमा पनि यो तहको बुझाई, चेत, सक्षमता र शैक्षिक तथा सामाजिक हैसियत निर्माण गर्नुमा रिलेक नेपालको योगदान र प्रेरणादायी अग्रज रिलेककर्मीहरुको महत्वपूर्ण भूमिका रहेको छ । रुद्रजीलाई हार्दिक बधाई तथा शुभकामना ! सम्पूर्ण रिलेककर्मीहरुमा मिठो सम्झना । हाम्रो समतामुलक समाज निर्माणको यात्रा अझै जारी छ ।

रुद्रबहादुर खड्का : मानवअधिकारलाई जीवन बनाएका अभियानकर्मी

मानवअधिकारकर्मी भावना भट्ट

पूर्व उपाध्यक्ष, रिलेक नेपाल

सन् २००३ मा पोखरामा आयोजित रिलेक नेपालको सम्मेलनका क्रममा मेरो र रुद्रबहादुर खड्काको पहिलो भेट भयो । म दाङबाट र उहाँ सिन्धुलीबाट सहभागी भएका थियौँ । त्यही भेटबाट सुरु भएको हाम्रो सम्बन्ध आजसम्म निरन्तर छ । मानवअधिकार र सामाजिक न्यायप्रतिको उहाँको अटल प्रतिबद्धता सधैँ उत्प्रेरणादायी लाग्छ । एकपटक चिनजान भएका व्यक्तिसँग पनि सम्बन्धलाई दीर्घकालसम्म कायम राख्ने उहाँको स्वभाव निकै प्रशंसनीय छ । स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म उहाँले बनाएको परिचय र विश्वास उहाँको निरन्तर कर्मशीलता र समर्पणकै परिणाम हो ।

रुद्रबहादुर खड्कालाई मैले आफ्नो कर्मप्रति अनवरत समर्पित व्यक्तित्वका रूपमा पाएको छु । उहाँ मानवअधिकारको अभियानमा मात्र होइन, मानवीय सम्बन्धमा पनि उत्तिकै संवेदनशील हुनुहुन्छ । साथीभाइ वा सहकर्मीको परिवारमा कुनै पीडा वा दुःखद् घटना पर्दा उहाँ सकेसम्म स्वयम् उपस्थित भएर सान्त्वना दिनुहुन्छ । उपस्थित हुन नसकेको अवस्थामा पनि सञ्चार सम्पर्कमार्फत दुःखमा साथ र सहानुभूति व्यक्त गर्न कहिल्यै चुक्नुहुन्न । आफ्नो कामप्रतिको उहाँको निरन्तरता, जिम्मेवारीबोध र मानवीय व्यवहार साँच्चै प्रशंसायोग्य छ ।

व्यवसायी घनश्याम पोखरेल

पूर्व महासचिव, रिलेक नेपाल

रुद्रबहादुर खड्कासँगको मेरो चिनजान रिलेक नेपालको गतिविधिमार्फत भएको हो । त्यसयता उहाँलाई नजिकबाट चिन्ने र सँगै काम गर्ने अवसर पाएँ । मानवअधिकारलाई उहाँले पेशा वा परियोजनाका रूपमा होइन, जीवनको मूल उद्देश्यका रूपमा आत्मसात् गर्नुभएको छ । सीमित स्रोत र अनेक चुनौतीका बिच पनि उहाँले मानवअधिकारको आवाजलाई गाउँगाउँसम्म पुर्‍याउने जुन निरन्तर प्रयास गर्नुभएको छ, त्यो वास्तवमै अनुकरणीय छ । उहाँका लागि अभियान परिस्थितिअनुसार सुरु र अन्त्य हुने विषय होइन, निरन्तर अघि बढिरहने जीवनयात्रा हो ।

रुद्रबहादुर खड्काको अर्को विशेषता उहाँको सरलता, इमानदारी र सम्बन्धप्रतिको प्रतिबद्धता हो । समाजका सीमान्तकृत र आवाजविहीन समुदायका पक्षमा निरन्तर उभिने तथा आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने उहाँको स्वभावले उहाँलाई सबैको प्रिय बनाएको छ । मेरो विश्वास छ, मानवअधिकारको क्षेत्रमा उहाँले गरेको योगदान सिन्धुलीको मात्र होइन, नेपालको मानवअधिकार आन्दोलनकै एउटा महत्वपूर्ण सम्पत्ति हो ।

Author

Share the News

Recent News

Related News