मानव आवाज

२०८३ श्रावण १९ गते
00: 00: 00
२०८३ श्रावण १९ गते

सुनकोशी दुर्घटनाका पीडितः क्षतिपूर्ति नपाए मध्यपहाडी लोकमार्ग बन्द  

सिन्धुली मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरमा २०८३ साउन १८ गते बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार तीन जना अझै भेटिएका छैनन् ।

घटनापछि सुरु गरिएको खोजी कार्य २०८३ साउन १९ गते बिहानदेखि पुनः सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश ०८-००१ ख ०१४४ नम्बरको बसले सडक किनारमा रोकिराखिएको प्रदेश ३-०१-०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको हो ।

उक्त कार सडक विभाग यान्त्रिक कार्यालय मुलकोट अन्तर्गत मध्यपहाडी लोकमार्ग पुनर्निर्माणमा संलग्न कालिमाता–गौरा–मिग्मा कन्स्ट्रक्सनको रहेको प्रहरीले जनाएको छ ।

घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७ का करिब ३९ वर्षीय दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ निवासी स्काभेटर चालक गणेश थापा तथा तीनपाटन गाउँपालिका-९ डाँडाखर्कका १७ वर्षीय सुजन बलम्पाकी मगर परेको जनाइएको छ ।

घटना भएको दिन साँझसम्म खोजी गर्दा कार र हराएका व्यक्तिहरू फेला नपरेपछि राति खोजी कार्य स्थगित गरिएको थियो ।

आज बिहानदेखि विपद् व्यवस्थापन बेस खुर्कोटबाट खटिएको सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको सहभागितामा पुनः खोजी कार्य सञ्चालन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहका अनुसार सुनकोशी नदीमा वर्षायामका कारण पानीको बहाव अत्यधिक रहेको र घटनास्थल साँघुरो भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ ।

यता पीडित परिवारले भने बसधनी र मध्यपहाडी यातायात समितिले घटनापछि खोजी, उद्धार तथा राहतमा कुनै चासो नदिएको आरोप लगाएका छन् ।

दुर्घटनामा हराउनुभएका गणेश थापाका काका उमेशकुमार थापाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँका अनुसार घटना भएको लामो समय बितिसक्दा पनि बसधनी र यातायात समिति सम्पर्कमा नआएकाले परिवार थप पीडामा परेको छ ।

घटनामा संलग्न बसका चालक फिक्कल गाउँपालिका-६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खुर्कोटमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

Author

Share the News

Recent News

Related News