मानव आवाज

२०८३ श्रावण १४ गते
00: 00: 00
२०८३ श्रावण १४ गते

विपी राजमार्ग पुनर्निर्माण सम्झौता अवधिमै सकिन्छ : सभापति गजुरेल

सिन्धुली प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति तथा सिन्धुली क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले विपी राजमार्गको पुनर्निर्माण कार्य सम्झौता अवधिभित्रै सम्पन्न गराउन सरकार दृढतापूर्वक लागिरहेको बताउनुभएको छ ।

सिन्धुली उद्योग वाणिज्य सङ्घले २०८३ साउन १३ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति गजुरेलले सरकारले २०८४ साल असोजभित्र विपी राजमार्गको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइरहेको जानकारी दिनुभयो ।

उहाँले विपी राजमार्ग सिन्धुलीसहित पूर्वी नेपाललाई राजधानीसँग जोड्ने प्रमुख सडक सञ्जाल भएकाले यसको पुनर्निर्माण समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न आवश्यक समन्वय र सहजीकरणमा कुनै कसर बाँकी नराखिने उहाँको भनाइ थियो ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय व्यवसायीहरूले उठाएका जिज्ञासाको जबाफ दिँदै गजुरेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन श्रेष्ठले जिल्लाका व्यवसायीहरूले भोगिरहेका समस्या, चुनौती तथा सिन्धुलीको विकास र आर्थिक सम्भावनाका क्षेत्रबारे जानकारी गराउनुभयो ।

सहभागी व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा सामना गर्नुपरेका समस्या, राज्यले गर्नुपर्ने नीतिगत सुधार तथा समाधानका उपायबारे सुझाव प्रस्तुत गरेका थिए ।

Author

Share the News

Recent News

Related News