सिन्धुली । आर्थिक वर्ष २०८२/८३ मा सिन्धुली जिल्लामा १ सय ४६ ओटा सवारी दुर्घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ती दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने ३ सय २३ जना घाइते भएका छन् । दुर्घटनाका क्रममा ३ सय ४९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षायाममा प्रतिकूल मौसम, चालकको लापरवाही, साँघुरा तथा घुमाउरा सडकलगायतका कारण सवारी दुर्घटनाका घटना हुने गरेका छन् ।
यसै आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९ हजार ९ सय ४१ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । सवारी साधन चेकजाँचका क्रममा गरिएको उक्त कारबाहीबाट ९९ लाख ४६ हजार ५ सय १६ रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएपछि ट्राफिक नियम उल्लङ्घनका घटनामा कमी आएको छ । सोही कारण गत आर्थिक वर्षको तुलनामा यस वर्ष राजस्व सङ्कलन पनि घटेको कार्यालयको अभिलेखमा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक कारबाहीबाट १ करोड १९ लाख ९९ हजार १७ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।