मानव आवाज

२०८३ श्रावण ९ गते
00: 00: 00
२०८३ श्रावण ९ गते

नेपाल एकीकृत ग्रामीण विकास परियोजनाबारे अन्तरक्रिया

सिन्धुली । वर्ल्ड नेवर्सको साझेदारी तथा सिड्स नेपाल सिन्धुलीद्वारा सञ्चालित नेपाल एकीकृत ग्रामीण विकास परियोजनाको पाँच वर्षे उपलब्धि र भावी कार्ययोजनाबारे अन्तरक्रिया कार्यक्रम साउन ६ गते सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दीपक घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सन् २०२१ जनवरीदेखि २०२६ जुनसम्म परियोजनाले हासिल गरेका उपलब्धि, सिकाइ तथा आगामी कार्यदिशाबारे छलफल गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सिड्स नेपाल सिन्धुलीकी कोषाध्यक्ष बिमला श्रेष्ठले पाँच वर्षे उपलब्धि प्रस्तुत गर्दै कमलामाई नगरपालिका–२, ४ र ५ मा सञ्चालित कार्यक्रमबाट १२ ओटा कृषक समूहमार्फत ३ सय १७ घरधुरीका करिब १ हजार ६ सय जना प्रत्यक्ष लाभान्वित भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार परियोजनाअन्तर्गत क्षमता अभिवृद्धि, बचत तथा ऋण परिचालन, कृषक सिकाइ केन्द्र सञ्चालन, दिगो कृषि, ग्रामीण जीविकोपार्जन, समुदाय तथा प्रजनन स्वास्थ्य र समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

परियोजनाअन्तर्गत दुई वटा कृषक सिकाइ केन्द्र स्थापना गरी स्थानीय सरकारमा दर्ता गरिएको छ । साथै समूह व्यवस्थापन, लेखा व्यवस्थापन, वित्तीय साक्षरता, नेतृत्व विकास, लागत मूल्य निर्धारण, स्वमूल्याङ्कन, प्रशिक्षक प्रशिक्षण, अध्ययन अवलोकन भ्रमण, खाद्य परिकार निर्माण तालिम, किसान–व्यापारी अन्तरक्रिया तथा किसान–किसान अनुभव आदानप्रदानजस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइयो । यसैगरी ३५ जना कृषकले CTEVT लेभल–१ को प्रमाणपत्र प्राप्त गरेका छन् ।

परियोजनाको कुल बजेट २ करोड २० लाख ६४ हजार ८ सय १६ रुपियाँ ५९ पैसा रहेको छ। कार्यक्रममा प्रस्तुत विवरणअनुसार ३ सय १७ सदस्यमा नियमित बचत गर्ने बानीको विकास भई हालसम्म ३० लाख ८३ हजार ४ सय ४३ रुपियाँ बचत सङ्कलन भएको छ ।

१२ ओटा कृषक समूहका सदस्यहरूले करेसाबारीमा उत्पादन गरेको तरकारी उपभोग गरी मासिक २ हजार ५ सय देखि ३ हजार ५ सय रुपियाँसम्म बचत गर्न सफल भएका छन् भने अतिरिक्त उत्पादन बिक्रीबाट ५ सय देखि २ हजार रुपियाँसम्म मासिक आम्दानी गरिरहेका छन् ।

त्यसैगरी १ हजार ६ सय कट्ठा भिरालो तथा बाँझो जमिनमा घाँसखेती विस्तार गरिएको छ । घाँसका बीउ तथा बिरुवा बिक्रीबाट एक सदस्यले ४ हजारदेखि २० हजार रुपियाँसम्म आम्दानी गर्न थालेका छन् ।

साथै ४ सय ७५ कट्ठा क्षेत्रमा फलफूल खेती विस्तार गरी सदस्यहरूले २ हजारदेखि २० हजार रुपियाँसम्म आम्दानी गरिरहेका छन् ।

परियोजनामार्फत १ सय २७ किसानका लागि सुधारिएको गोठ निर्माण गरिएकाले व्यवस्थित पशुपालन विस्तार भएको छ ।

खसीबाख्रा, दूध तथा दुग्धजन्य पदार्थ बिक्रीबाट किसानहरूले मासिक २५ हजारदेखि ५५ हजार रुपियाँसम्म आम्दानी गर्न थालेको जानकारी प्रस्तुत गरिएको थियो ।

त्यसैगरी १ सय ५२ जना सदस्य व्यावसायिक तरकारी खेतीबाट वार्षिक ७० हजारदेखि ३ लाख रुपियाँसम्म आम्दानी गरिरहेका छन् ।

यस्तै १ सय ५६ घरधुरीमा गँड्यौला मल उत्पादन प्रवर्धन गरी कुल १ लाख ९० हजार ८ सय केजी मल उत्पादन गरिएको छ । अतिरिक्त मल बिक्रीबाट ७५ जना सदस्यले २ लाख १० हजार रुपियाँसम्म आम्दानी गर्न थालेको जनाइएको छ ।

स्थापना गरिएका दुई कृषक सिकाइ केन्द्रमार्फत ३० ओटा संस्था तथा समूहका १ सय ९५ भन्दा बढी प्रशिक्षार्थीले तालिम लिएका छन् ।

तालिमपछि सहभागीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा ५ हजारदेखि ३० हजार रुपियाँसम्म आम्दानी गर्न सफल भएको जानकारी दिइयो ।

कार्यक्रममा वर्ल्ड नेवर्सकी क्षेत्रीय निर्देशक सिर्जना कार्कीले परियोजनाको भावी कार्ययोजनाबारे जानकारी दिँदै स्थानीय सरकार, समुदाय तथा सरोकारवाला निकायसँगको सहकार्यलाई थप सुदृढ गर्दै दिगो कृषि, जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापन र समुदायको आर्थिक सशक्तीकरणका क्षेत्रमा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले परियोजनाले समुदायमा आर्थिक, सामाजिक तथा संस्थागत सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई स्थानीय तहसँग समन्वय गरी अझ प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले लक्षित समुदायका लागि यस्ता कार्यक्रम अत्यन्त उपयोगी रहेको बताउँदै विपन्न वर्गको जीवनस्तर उकास्न जनमुखी तथा दीगो कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थाहरूलाई आग्रह गर्नुभयो ।

Author

Share the News

Recent News

Related News