सिन्धुली । सिन्धुली जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सम्बन्ध विच्छेदका मुद्दा उल्लेख्य रूपमा बढेका छन् ।
जिल्ला अदालत सिन्धुलीले २०८३ साउन ४ गते आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका ४ सय ३८ ओटा मुद्दा दर्ता भएका छन् ।
जिल्ला अदालतका सेस्तेदार (उपसचिव) चित्रखर अधिकारीका अनुसार अघिल्ला वर्षहरूको तुलनामा सम्बन्ध विच्छेदका मुद्दाको सङ्ख्या वृद्धि भएको हो ।
अदालतमा सम्बन्ध विच्छेदका औसतमा दैनिक तीन ओटा मुद्दा दर्ता हुने गरेका छन् भने अधिकांश मुद्दामा महिलाहरू वादी हुने गरेका छन् ।
अधिकारीका अनुसार वैदेशिक रोजगारीमा गएका पतिले परिवारलाई बेवास्ता गर्ने, नियमित खर्च नपठाउने तथा लामो समयसम्म सम्पर्कविहीन रहनेजस्ता कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ ।
पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा लागूऔषधसम्बन्धी ५८, बलात्कारका ३२ तथा ज्यानसम्बन्धी कसुरका २२ ओटा मुद्दा दर्ता भएका छन् ।
यसबाहेक अंश, लिखत बदर, गालीगलौज, कुटपिटलगायतका विभिन्न प्रकृतिका मुद्दासमेत अदालतमा दर्ता भएका छन् ।
लागूऔषधसम्बन्धी मुद्दामा विशेषगरी युवाको संलग्नता बढी देखिएको अधिकारीले जानकारी दिनुभयो ।
अदालतका अनुसार आर्थिक वर्ष २०८१/८२ बाट जिम्मेवारी सरी आएका ६ सय ५९ मुद्दामध्ये हाल १ सय १५ ओटा मुद्दा बाँकी छन् ।
२०८३ साउन १ गतेसम्म १८ महिना नाघेका १९ ओटा मुद्दा रहेका छन् भने आगामी पुस मसान्तसम्म १८ महिना पुग्ने मुद्दाको सङ्ख्या १ सय १५ पुग्ने अनुमान गरिएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ बाट जिम्मेवारी सरी आएका ६ सय ५९ र आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका ९ सय ७७ गरी कुल १ हजार ६ सय ३६ मुद्दामध्ये २०८३ असार मसान्तसम्म १ हजार १ सय १९ ओटा मुद्दाको फैसला भएको अदालतले जनाएको छ । चालु आर्थिक वर्षका लागि ५ सय १७ ओटा मुद्दा जिम्मेवारी सरेका छन् ।
अदालतले आर्थिक वर्ष २०८२/८३ मा १ हजार २ सय ७८ ओटा मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेको थियो । लक्ष्यअनुसार ८७.५५ प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल भएको अदालतले जनाएको छ ।