सिन्धुली । गोलन्जोर गाउँपालिकाले स्थापना भएको १० वर्षपछि आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गर्ने भएको छ ।
गाउँपालिकाले २०८३ साउन १ गतेदेखि वडा नं. ३ ग्वाल्टारस्थित नवनिर्मित प्रशासकीय भवनबाट सम्पूर्ण प्रशासनिक सेवा सञ्चालन गर्ने जनाएको छ ।
नवनिर्मित भवनमा २०८३ असार ३१ गते वैदिक विधिअनुसार पूजाआराधना सम्पन्न गरिएको छ । त्यसपछि साउन १ गतेदेखि नियमित सेवा प्रवाह सुरु हुने गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
ग्वाल्टारमा निर्माण गरिएको भवनको काम २०८० पुसदेखि सुरु भएको थियो । पार्किङ सुविधासहित चारतले उक्त भवनमा ३८ ओटा कोठा रहेका छन् ।
भवन निर्माणमा कुल ६ करोड ११ लाख ११ हजार २ सय ५७ रुपियाँ लागत लागेको गाउँपालिकाले जनाएको छ ।
भवन निर्माणको ठेक्का पाइनस कन्स्ट्रक्सन प्रा.लि., काठमाडौँले पाएको थियो । निर्माण कम्पनीले सम्झौतामा उल्लेख गरिएको अवधिभन्दा करिब एक वर्ष ढिलो गरी भवन निर्माण सम्पन्न गरेको हो ।
गाउँपालिकाका अध्यक्ष शङ्कर बरालले आफ्नै भवनबाट सेवा सञ्चालन हुनुले स्थानीयवासीलाई सहज, व्यवस्थित र प्रभावकारी सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विकास निर्माणका योजनालाई प्राथमिकताका आधारमा अघि बढाइएको बताउँदै अधुरा रहेका योजनाहरू आगामी वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, यातायातलगायत आधारभूत पूर्वाधारलाई सबै वडामा विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
अध्यक्ष बरालले लक्षित वर्गका समुदायका कार्यक्रमलाई प्राथमिकता दिँदै उनीहरूको हकअधिकार सुनिश्चित गर्न आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।
युवालाई रोजगारीमुखी शिक्षा र सीपसँग जोड्ने नीति पनि गाउँपालिकाले अवलम्बन गरेको उहाँले बताउनुभयो ।