सिन्धुली । सिन्धुलीस्थित राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत बाँध तथा विद्युत्गृह निर्माणको काम पुनः अघि बढाउने तयारी गरिएको छ ।
यसअघि ठेक्का रद्द भएपछि आयोजनाले नयाँ निर्माण कम्पनी छनोटका लागि प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
आयोजनाका अनुसार अबको एक साताभित्र बोलपत्र खोलिनेछ । त्यसपछि प्राविधिक तथा वित्तीय मूल्याङ्कन गरी निर्माण कम्पनी छनोट गरिने र बाँध निर्माणको काम पुनः सञ्चालनमा ल्याइनेछ ।
सुनकोसी नदीमा बाँध तथा विद्युत्गृह निर्माणको जिम्मा पाएको पटेल–रमण जेभी ले सम्झौताअनुसार काम अघि बढाउन नसकेपछि सरकारले उक्त कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।
निर्माण कार्य अत्यन्त सुस्त रहेको तथा अपेक्षित प्रगति हासिल हुन नसकेको निष्कर्षसहित जलस्रोत तथा सिँचाइ विभागले ठेक्का अन्त्य गरेको हो ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक गौतमका अनुसार नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
उहाँले भन्नुभयो-“अबको एक सातापछि बोलपत्र खोलिन्छ । त्यसपछि मूल्याङ्कन गरी निर्माण कम्पनी छनोट हुनेछ र बाँध निर्माणको काम पुनः सुचारु हुन्छ ।”
पटेल–रमण जेभीसँग २०७९ पुसमा भएको सम्झौताअनुसार चार वर्ष सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
तर, सम्झौताको करिब ६१ प्रतिशत अवधि बितिसक्दा पनि भौतिक प्रगति करिब १० प्रतिशतमा मात्र सीमित रहेपछि विभागले ठेक्का रद्द गरेको हो ।
ठेक्का रद्द भएसँगै सरकारले निर्माण कम्पनीले राखेको दुई अर्ब ४० करोड रुपियाँ बराबरको बैंक ग्यारेन्टी तथा एक अर्ब २० करोड रुपियाँ अग्रिम भुक्तानीसमेत जफत गरिसकेको जनाएको छ ।
आयोजनाअन्तर्गत सुनकोसी नदीमा ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माण गरिनेछ । कुसुमटारबाट मरिणतर्फको १३.३ किलोमिटर लामो सुरुङ भने टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।
बाँध निर्माण सम्पन्न भएपछि सुनकोसी नदीको प्रतिक्षण ६७ घनमिटर पानी सुरुङमार्फत मरिण खोलामा पठाइनेछ ।
त्यसबाट ३१.०७ मेगावाट विद्युत् उत्पादन हुनुका साथै मरिण क्षेत्रका कृषियोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०८४/८५ भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि ठेक्का रद्द भएपछि निर्माण तालिका प्रभावित भएको छ । नयाँ निर्माण कम्पनी छनोटसँगै आयोजना पुनः तीव्र गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ ।